यो गठबन्धन ५ वर्ष टिक्छ, राज्यका सबै समस्या समाधान गरेर अघि बढ्छः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए।
उनले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने त होइन भन्ने प्रश्न उठिरहेको भन्दै प्रश्न गर्नु अस्वाभाविक नरहेको बताए। उनले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरे।
उनले नेपालको राजनीति कसरी अघि बढ्छ भन्नेबारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको बताए।
उनले भने, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ। यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन। यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ।’