तिलोत्तमा गोल्डकपः फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश

बुटवल – फ्रेन्ड्स क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको हो।

फ्रेन्ड्सका लागि कप्तान डोना थापा र विदेशी खेलाडी रफिक अमिनोले एकरएक गोल गरे । फ्रेन्ड्सका लागि खेलको ५२ मिनेट डोना थापाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

विदेशी खेलाडी रफिकले खेलको ८२ औं मिनेटमा अर्को गोल गर्दै फ्रेण्डसको अग्रता दोब्बर पारे । एपीएफका लागि अतिरिक्त समयमा प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काए । सोमबार भएको खेलमा फ्रेन्ड्सका रफिक अमिना म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

  सुरूदेखि नै दबाबमा रहेको एपिएफले दोश्रो हाफमा कमब्याक गर्ने प्रयास गरे पनि फ्रेण्डसका रक्षकले उत्कृष्ट बचाउ गरे । विभागीय टीमको कमजोर प्रस्तुतिको लाभ लिँदै फ्रेण्डसले सेमीफाईनल यात्रा तय गर्‌‍‍‍‍‍यो ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मर्स्याङदी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्