सुदूरपश्चिमको पहिलो ‘यादगार यात्रा’

संसदीय चुनाव नजिकिँदै थियो, तर मन शान्त थिएन। चुनावी गतिविधि कभर गर्नका लागि भागदौड गर्नुपर्ने भएकाले म त्यसअघि कतै जान चाहन्थेँ। केही दिनको सोच विचारपछि म गत कार्तिकमा सुदूरपश्चिम जाने निर्णय गरेँ।

केही समय भइसकेको थियो कतै घुम्न नगएको, आफूलाई समय नदिएको। काम गरिरहँदा दौडधुप गरिरहँदा आफूलाई समय दिनपनि भुलिँदो रहेछ/नभ्याइदो रहेछ। उसो त काठमाडौँको भीड, उल्झन र भागदौड। त्यसमाथि म त झन फोटो पत्रकार, हरेक परिवेश र घटनाक्रमलाई तस्बिरका माध्यमले प्रस्तुत गर्न भोग्नुपर्ने भागदौड त बानी नै परेको छ। अझ घुम्ने र ती ठाउँका स्मृतिहरू तस्बिरसँगै मन मस्तिष्कमा समेट्ने चाहना त भइरहन्छ नै।

पछिल्ला वर्षमा देशमा आन्तरिक रूपमा घुम्न जानेहरूको संख्या बढेको देखिन्छ। आन्तरिक पर्यटनमा यसले सहयोग पनि गरेको छ। अरू केका लागि घुम्छन् थाहा छैन तर म भने आफ्ना लागि, आफूले आफैलाई खोज्न, आफूलाई समय दिन घुम्ने गर्छु।

कञ्चनपुरको दोधार चाँदनी पुल। यो नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो, जसको लम्बाइ १४५२‍.९६ मिटर रहेको छ। तस्बिर: बर्षा शाह

प्रकृतिलाई महसुस गर्ने, देश र समय-कालखण्डका बारेमा जान्ने मेरो रुची नै हो। मैले हरेक परिस्थति र परिवेशलाई  नजिकबाट नियाल्न रुचाउँछु। मुख्य कुरा दैनिक गतिविधिबाट टाढा रही घुम्दै केही नयाँ ठाउँबारे जान्ने।

म काठमाडौँबाट बाहिरको ठाउँ जाँदा योजनाबिना नै बढी यात्रा गर्न मन पराउँछु। सोहीअनुसार यो पटक कार्तिकमा मैले सुदूरपश्चिमको यात्रा गरेँ। धेरै वर्ष पहिले पिकनिकका लागि टीकापुर पुगेकी थिएँ। तर त्यो बेलाको अनुभव त्यति राम्रो थिएन। बर्दियासम्म बेला-बेला पुग्ने म त्योभन्दा अगाडि यात्रा गरेको थिइनँ। लामो पर्खाइपछि सुदूरपश्चिमको यात्रा यो पटक जुराउन सफल भएँ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा चर्दै गरेका मयुर।

सुदूरपश्चिममा पनि कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जाने निर्णयसँगै म काठमाडौँबाट एक हप्ताको बिदा लिएर धनगढी, महेन्द्रनगर हुँदै शुक्लाफाटा पुगेँ। त्यहाँको यात्रा मेरो रोजाइमा पर्नुको मुख्य कारण पछिलो बाघ गणनामा बाघको संख्या बढ्नु हो भन्दा फरक पर्दैन। त्यसमा पनि म यात्रा गर्न‍ मन पराउने। नेपालको हिमाल, पहाड, तराई र त्यहाँको प्रकृतिसँग रमाउने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पुगेपछि सुरुमा आफूलाई बस्ने व्यवस्थापन गर्नु थियो। मध्यवर्ती क्षेत्रमा रहेको होमस्टेमा मेरो बसाइ भयो। तीन दिन मैले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल र त्यसको मध्यवर्ती क्षेत्रमा बिताएँ।

कञ्जचनपुरस्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको समथर क्षेत्र।

त्यहाँको जंगलमा म बाघलाई प्रत्यक्ष रुपमा देख्ने र तस्बिरमा कैद गर्ने ‍आशासहित पुगेकी थिएँ। बाघको ताजापाइला(पदचाँप) पछ्याउँदै पनि हिँडेँ, बाघको आवाजलाई पनि पछ्याएँ। तर मैले बाघलाई देख्न/भेट्न भने सकिनँ। बाघलाई प्रत्यक्ष रुपमा देखेर केही तस्बिर कैद गर्ने मेरो आशा अधुरै रह्यो। क्यामेरालाई फोटो खिच्च तम तयार अवस्थामा राखेकी थिए, बन्द गरेँ। वरपरका केही तस्बिर लिए र क्यामेरा ब्यागमा राखेर पुन: हिँडेँ।

बाह्रसिँगेकाे बथानको लागि प्रख्यात शुक्लाफाँटामा मेरो भेट उनीहरूसँग पनि भएन। तर त्यहाँको प्रकृतिको मज्जा भने निकै लिएँ। जंगलबिना दखलको प्राकृतिक लाग्यो। निकै शान्त आनन्द। तर निकुञ्जले व्यवस्थित गर्नेका लागि अझै केही काम त्यहाँ गर्नुपर्ने जस्तो महसुस भने भयो मलाई। हुन त त्यहाँ मात्र होइन देशका अधिकांश पर्यटकीय स्थलमा मैले देखेको समस्या नै यही हो- व्यवस्थापन पक्ष कमजोर। जसका कारण पनि अनेकन प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालले पर्यटन पर्वद्धनमा आशातित प्रगति गर्न सकेको छैन।

हुन त, यहाँ बेलाबेला मानिसहरूको चहलपहल भएपनि अझै त्यति मानिसको भीडभाड भने छैन। जुन त्यहाँका जनावरका लागि राम्रो हो भने मजस्तो शान्त वातावरणमा रमाउनेको लागि पनि ठिकै हो।

तीनदिन पछि त्यस ठाउँबाट फर्किँदा निकै नरमाइलो लाग्यो। महेन्द्रनगरमा पनि मैले एक रात बिताएँ। त्यहाँका बाटोहरू बिस्तार हुँदै थिए। त्यसपछि म फेरि धनगढीको लागि यात्रा अगाडि बढाए। धनगढीपछि टीकापुर बर्दिया हुँदै म एक हप्ताको बिदा सकाएर काठमाडौँ फर्किएँ।

यो यात्रामा निकै रमाइलो गरेँ। आफ्नो काम व्यस्तताका बाबजुद पनि मेरो यात्रालाई रमाइलो अनि सहज बनाउनुमा साथी आरजु हमालको निकै ठूलो सहयोग रह्यो। धीरज जोशी जसले अर्को पटक पनि आउनुपर्छ भन्दै अँध्यारोमा दोधारा चाँदनी पुर्‍याए। महेन्द्रनगरको मिठो सेकुवा खुवाए।

नेपालको सबैभन्दा लामो मध्येको एक: कर्णाली पुल। यस पुलले सुदूरपश्चिमलाई नेपालका अन्य भागसँग जोडेको छ। यसको लम्बाइ ५ सय मिटर र चौडाइ १० मिटर रहेको छ।

शुक्लाफाँटाको प्रचारप्रसारमा लागि परेका नेचर गाइड विष्णुप्रसाद पनेरु जसले मेरो बस्ने व्यवस्थापनदेखि तीन दिनसम्म त्यहाँको जंगलमा साथ दिए। सबैलाई धन्यवाद।

हरेक यात्रा एउटा यात्रीको लागि यादगार रहने गर्छ। अनि सबै यात्रा आफूले सोचेको जस्तो नहुन पनि सक्छ। तर यो यात्रा मेरो लागि यादगार त रह्यो। अनि मलाई लाग्यो- सुदूरपश्चिमको यात्रा गर्न अलि ढिलो भएछ। सुदूरपश्चिमको यात्रा जीवनमा फेरि गर्नेछु।

चैत ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्