गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

नेपालगञ्ज- पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा १५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।

फलफूल वितरण अघि कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो। माल्यार्पण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री एवम् नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले कोइरालाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताए।

उनले कोइरालाको स्मृति दिवस मनाइरहँदा कांग्रेसबीचको एकता अपरिहार्य रहेको बताए। हमालले कांग्रेसबीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रति सच्चा सम्मान र सम्झना हुने पनि उल्लेख गरे।

पार्टी सभापति गौडेलले मुलुकको शान्ति स्थापनामा गिरिजाबाबुले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए।

उनले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई द्वन्द्वबाट जोगाउन कोइरालाले गरेको योगदान विश्वमानचित्रमा सदैव उदाहरणीय हुने बताए।

कोइरालाले मजदुर आन्दोलनबाट थालेको राजनीतिक यात्रा पार्टी सभापतिसँगै मुलुकको कार्यकारी प्रमुखसम्म पुग्नु आफैंमा एउटा प्रेरणाको स्रोत भएको गौडेलको भनाइ छ।

संबिधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले गिरिजाबाबुको योगदानकै कारण राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएको बताए।

पार्टी सचिव सुधांशु कोइरालाले सञ्चालन र पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत गरेकाे कार्यक्रममा कांग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइराला, कांग्रेस नेता हुर्मत न्यौपाने, पार्टी सह-सचिव रेणुसिंह ठाकुर, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो।

चैत ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्