स्ववियु निर्वाचनः महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जशवन्त पौडेल सभापतिमा विजयी

मोरङ – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार जशवन्त पौडेलले एक हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।

मंगलबार घोषणा गरिएको मतपरिणाममा विद्यार्थी नेता पौडेलले १ हजार ६ सय ८९ मत पाए। उनको निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७ सय ८४ मत पाए। अनेरास्ववियुका उम्मेदवार नवीन पहाडी ५ सय ९२ मतसहित तेस्रो स्थानमा सीमित भए।

त्यसैगरि, सचिवमा अनेरास्ववियुका सनिम ठकुरी ९ सय ३७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेविसंघकी  पूजा विश्वासले ७ सय ८६ र क्रान्तिकारीकी आशिका लम्सालले ५ सय १५ मत पाइन्।

कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहरा विजयी भए। बोहराले १ हजार १ सय ४३ मत हासिल गर्दा अनेरास्ववियुका आरोग्य थापा ९ सय २ मतमा सीमित भए।

यसैगरि, ८ वटा प्रत्यक्षतर्फको सदस्यमा पनि नेविसंघले ६ वटा जित निकालेको छ। नेविसंघबाट अमित मुखिया, दिपककुमार यादव, प्रज्वल विष्ट, मो. साहिल अन्सारी, रोशनकुमार पासवान र सुदिक्षा थापा मगर विजयी भएका हुन्। बाँकी दुई सदस्यमा अनेरास्ववियुका मन्दिप पोखरेल र केवल काफ्ले विजयी भए।

जित हात पारेसँगै सभापतिमा विजयी पौडेलले विद्यार्थीको जित भएको बताए। क्याम्पसमा विद्यार्थीको हक अधिकार संरक्षणसँगै सहजरुपमा अध्ययनको वातावरण निर्माणमा आफ्नो भूमिका रहने पौडेलले बताए।

त्यसैगरि, समानुपातिकतर्फ कुल ३ हजार १ सय ६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। जसमा ३ हजार १ सय ११ मत सदर भएको र ५१ मत बदर भएको थियो। जसमा नेविसंघले १ हजार ३ सय ४ मत, अनेरास्ववियुले ८ सय १८ मत र अखिल क्रान्तिकारीले ६ सय ५ मत हासिल गरेको छ।

केन्द्रीय विद्यार्थी निर्वाचनका लागि समेत यस क्याम्पसको नतिजालाई अर्थपूर्ण रुपमा हेर्ने गरिएको छ। क्याम्पसमा १८ वर्षपछि नेपाल विद्यार्थी संघले बहुमतसहित जित निकालेको हो।

युवा नेता कृष्ण कार्कीका अनुसार विगत लामो समयदेखि क्याम्पसमा हार व्यहोर्दै आएकोमा यसपटकको नतिजाले मोरङ क्याम्पसमा नेविसंघले आफ्नो पुरानो विरासतलाई फर्काएको बताए।

महेन्द्र मोरङ क्याम्पस राजनीतिको लागि उद्गमस्थलका रुपमा समेत मानिन्छ। पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, कांग्रेस नेता विजयकुमार गच्छदार, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मेयर भीम पराजुली, कोशी प्रदेशका पूर्वमन्त्री केदार कार्कीले यहीँबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।

क्याम्पसमा २०५७ देखि ६१ सालसम्मको दुई कार्यकाल अनेरास्ववियुका सागर थापाले जित निकालेका थिए। त्यसपछि बागी उम्मेदवारका रुपमा भीम पराजुलीले २०६१ सालमा प्यानल जिताए। २०६४/६५ मा भने अखिल क्रान्तिकारीका जयराम सुन्दासहितको टोलीको विजयी भएको थियो।

चैत ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्