प्रदेशको नाममा अब अलमल हुँदैनः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतको पाँच वर्ष प्रदेशको नामका लागि अलमल भएको बताएका छन्।
मंगलबार विराटनगरमा आकाशे पुल र स्वागतद्वार निर्माण शिलान्यासका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा अब धेरै अल्झिरहनु नपर्ने बताए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनतालाई अनुभूत गराउने गरी काम गर्नुपर्ने हुँदा त्यो तयारी नीति कार्यक्रम बजेटबाट हुने बताए। उनले भने, ‘विगतको पाँच वर्ष नामको लागि अलमल गर्यौँ। अलमल गर्ने हामीसँग समय नै छैन। नामका लागि अलमल गर्ने समय होइन, अब हाम्रो अलमल हुँदैन।’
प्रदेश सरकारलाई केन्द्रदेखि चौतर्फी विभिन्न टिकाटिप्पणी भइरहेको बताएका उनले प्रदेशको विकास समृद्धिमा ध्यान दिनुपर्ने बताए। उनले भने, ‘प्रदेश सरकारले आफ्नो हैसियतले भ्याएसम्म र थैलोले भ्याएसम्म यहाँको विकास निर्माणलाई प्रथामिकतामा राखेर गर्नुपर्छ।’
आकाशे पुल तथा स्वागतद्वार निर्माणमा कोशी प्रदेश सरकारको ७० प्रतिशत, विराटनगर महानगरपालिकाको २० प्रतिशत र उद्योग संगठन मोरङको ५ प्रतिशत साझेदारी रहेको छ। जसको लागत करिब ७ अर्ब ७६ लाख ४८ हजार रुपैयाँ रहेको प्रदेश सरकारले जनाएको छ।