विराटनगर क्रिकेट क्लबले अल इण्डिया वुमन क्रिकेट टोलीलाई हरायो

मोरङ – विराटनगरमा सम्पन्न नेपाल र भारतको महिला क्रिकेट क्लबबीचको एकदिवसीय खेलमा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले ४९ रनको जित निकालेको छ।

मंगलबार विराटनगर–६ स्थित मेरिबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको विराटनगर क्रिकेट एकेडेमीले ३० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल बनाएको थियो।

विराटनगरको लागि रुविना क्षेत्रीले ५९ रनको पारी खेलेकी थिइन्। उनलाई सम्झना खड्काले २४, कविता जोशीले १८ बनाएर साथ दिएका थिए।

भारतको अल इण्डिया वुमन टी–ट्वेन्टी क्रिकेट टोलीका लागि रितु भोस्लेले २, विनोदा र मिनाक्षीले समान १ विकेट लिए।

१ सय ४६ रनको लक्ष्य पछ्याएको भारतीय टोली २६.१ ओभरमा ९५ रनमा अल आउट भएको थियो। भारतीय टोलीको लागि ब्याटर रितुले १८, दिक्षा सिंहले १३ जोडेका थिए। भारतीय टोलीलाई धराशायी बनाउने क्रममा रुविनाले ३ विकेट लिएका थिइन्।

खेलमा अर्धशतक र तीन विकेट लिन सफल रुविना प्लेअर अफ दि म्याच भइन्।

यसअघि, दुवै टोलीबीच भएको ३ वटा टी–२० क्रिकेटमा नेपाली टोली २– १ ले विजयी भएको थियो। समग्रमा ४ खेलमा उत्कृष्ट प्रदर्शनी गरेकी रुविना क्षेत्री प्लेअर अफ दि सिरिज, उत्कृष्ट ब्याटर सम्झना खड्का, उत्कृष्ट बलर अस्मिता कर्माचार्य घोषित भए।

विजेता टोली र खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की निरालाले पुरस्कार वितरण गरेकी थिइन्। प्रतियोगिता नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको हो।

चैत ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्