लुम्बिनी प्रदेश: नयाँ सरकारको विषयमा माओवादीभित्र विवाद चुलिँदै

फाइल तस्बिर।

दाङ- लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको विषय पेचिलो बन्दै गएको छ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकार बदल्न हाल सरकारमै रहेको नेकपा माओवादी केन्द्रभित्रै विवाद बढ्दो क्रममा छ।

माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महराकै विकल्प खोज्नेगरी छलफल अघि बढाइएको माओवादी नेता तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले दावी गरे।

‘उहाँ (जोखबहादुर) संसदीय दलको नेताको रूपमा बन्न खोज्नु भएन। एउटा गुटको मात्रै नेता बन्न खोज्नुभयो’, उनले भने, ‘हामी उहाँकाे विकल्प खोज्न सक्छौँ।’

लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता महराको नेतृत्वमा सरकारमा सहभागी भएको थियो। उनीसँगै तीनजना मन्त्री छन्। तर, सुरुमा बिना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी र पछि जिम्मेवारी तोकिएकी कृष्णा केसी मन्त्रीको रूपमा काममा खटिएकी छैनिन्।

जिम्मेवारी बाँडफाँडको विषयमा असन्तुष्ट रहेकी उनले विरोध गर्दै आएकी छन्। तर नेकपा माओवादीभित्र संसदीय दलको नेता फेर्नेसम्मको विवाद नरहेको भौतिकपूर्वाधार विकासमन्त्री इन्द्रजीत थारुले बताए।

‘कसैले पनि संसदीय दलको नेता फेर्न सक्दैन। यो बजारमा हल्ला मात्रै हो’, उनले भने, ‘हामी संसदीय दलको बैठक बस्छौँ। भावी योजनाको बारेमा छलफल गरेर निर्णयमा पुग्छौँ।’

नयाँ समीकरणको आधारमा सरकार फेर्ने विषयमा नयाँ गठबन्धन सक्रिय बन्न थालेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्म स्थगित बनेको सरकार बदल्ने विषयले फेरि चर्चा पाउन थालेको छ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नेगरी गृहकार्य थालिसकेको छ। जसका लागि नयाँ गठबन्धनमा रहेका दलहरूकाे बीचमा छलफल गरिरहेको छ। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो सक्रियता बढाउन थालेका छन्।

मुख्मन्त्री लीला गिरी भने संसदीय प्रक्रियामा सहभागी हुन चाहेका छन्। सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको खण्डमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

विश्वासको मत लिनुपर्ने खण्डमा पनि सरकारले त्यसको अभ्यास गर्ने जनाउ दिएको छ। लुम्बिनीमा एमाले पहिलो दल छ, जसका २९ सांसद छन्। दोस्रोमा नेपाली कांग्रेस छ, जसका २७ सांसद छन्। तेस्रोमा माओवादी छ, जसका १० सांसद छन्।

८७ सदस्यीय प्रदेशसभामा राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, लोसपा र जनमतका तीन-तीन, जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक र स्वतन्त्रगरी दुईजना सांसद छन् ।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्