पोखरियामा बस्तीमा छिरेको चितुवा अझै नियन्त्रणमा आएन, चितवनबाट प्राविधिक टोली आउँदै

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्तीमा छिरेको चितुवा अझै नियन्त्रणमा आएको छैन। पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको छ।

एक प्रहरीसहित तीन जनालाई घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिन प्रयास गरिए पनि अझै नियन्त्रणमा आउन नसकेको हो।

बिहान बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली गए पनि चितुवालाई नियन्त्रणमा लिन सकेको छैन।

चितुवा नियन्त्रणमा लिनको लागि डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेको भए पनि निकुञ्जमा डार्ट (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट टोली मगाइएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खडकाले जानकारी दिए। उक्त टोली आएपछि चितवालाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिने उनले बताए।

बिहान बस्तीमा छिरेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका–४ सतवरिया टोलका दिल महम्द मियाँ, जोगन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएका थिए।

उनीहरुमध्ये मियाँको अवस्था गम्भीर भएपछि उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ। चितुवा बस्तीमा छिरेपछि स्थानीयबासी भने त्रसित बनेका छन्।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्