सनातनयात्रा

वैदिक परम्परामा कौटुम्बिक सम्बन्ध (२)

यसभन्दा अघिल्ला लेखमा कौटुम्बिक अर्थात् पारिवारिक सम्बन्धका विविध पक्षमा प्रकाश पारिएको थियो। त्यहाँ कुटुम्बका सबै व्यक्तिले परस्परमा गर्नुपर्ने व्यवहार, पति र पत्नीले एकअर्काप्रति गर्नुपर्ने कर्तव्य तथा पिता र पुत्रको सम्बन्धका विषयमा विवेचना गरिएको थियो। त्यहाँ विवेचना गर्न बाँकी रहेका सम्बद्ध केही पक्षको चर्चा यहाँ गरिँदै छ।

मातासित सन्ततिको सम्बन्ध

मातासित अर्थात् आमासित सन्ततिको र सन्ततिसित आमाको विशिष्ट सम्बन्ध हुन्छ। आमाले आफ्ना सन्ततिलाई अतिशय स्नेह गर्ने कुरा वेदका मन्त्रहरूमा धेरैतिर आएको छ। आमाले सन्ततिलाई स्नेहले काखमा लिने, पालन गर्ने र तिनलाई सुख दिने कुराको उल्लेख पाइन्छ। जस्तै—

मातेव पुत्त्रं बिभृतामुपस्थे। –ऋग्वेद ६।७५।६, शुक्लयजुर्वेद २९।४१

मातेव पुत्त्रं पिपृतेह युक्ताः। –अथर्ववेद ५।२६।५

मातेव पुत्त्रेभ्यो मृड। –अथर्ववेद ६।३०।३

वैदिक वाङ्मयमा यद्यपि पुत्र शब्दले मुख्य रूपमा पुरुष–सन्तानलाई मात्र बुझाएको देखिन्छ तथापि गौण रूपमा स्त्री–सन्तानलाई पनि बुझाएको देखिन्छ। तसर्थ पुत्र शब्दको अर्थ प्रसङ्गअनुसार छोरा मात्र वा छोरीछोरी दुवै  बुझ्नुपर्ने हुन्छ।

कुटुम्बमा राम्रो सम्बन्ध स्थापना गर्न कुनै पनि काम गर्दा त्यसमा आफूभन्दा मान्यजन माता, पिता र सहोदर  दाजुको अनुमोदन पनि आवश्यक हुन्छ भन्ने कुरा शुक्लयजुर्वेदमा आएका तल उल्लिखित दुई कण्डिकाबाट सूचित भएको देखिन्छ—

अनु त्वा माता मन्यतामनु पितानु भ्राता सगभ्र्योनु सखा सयूथ्यः। –४।२०

देवत्रा यन्तमवसे सखायोनु त्वा माता पितरो मदन्तु। –६।२०

सन्ततिलाई गर्भमा राखेर, पोसेर, जन्माएर, हुर्काएर तिनको पालन, पोषण र रक्षणसमेत गर्ने हुनाले माता सन्ततिका निम्ति देवताझैँ पूज्य हुने कुरा कृष्णयजुर्वेदको तैत्तिरीयोपनिषद्मा बताइएको छ— “मातृदेवो भव” १।११।२)। त्यहाँ आएका “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव” यी वाक्यमा सर्वप्रथम माताको उल्लेख हुनाले पिताभन्दा पनि माता बढी मान्य हुने कुरा बुझिन्छ। माताको अर्थ निर्मात्री र पिताको अर्थ पालनकर्ता भन्ने हुन्छ। मनुस्मृतिमा पनि दस उपाध्यायभन्दा आचार्य, सय आचार्यभन्दा पिता, हजार पिताभन्दा माता गौरवले अधिक हुने कुरा बताइएको छ—

उपाध्यायान् दशाऽऽचार्य आचार्याणां शतं पिता।

सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते।। –२।१४५

अथर्ववेदको“स्वस्ति मात्र उत पित्रे” १।३१।४) यस मन्त्रमा माता र पिताको कल्याणको कामना गरिएको छ। माता पृथिवी¬जस्तै पालन गर्ने र ठूली हुन् भन्ने कुरा पनि धेरै मन्त्रमा आएको छ। साथै पृथ्वीले र माताले समान रूपमा सन्ततिलाई पालन–पोषण गर्ने कुरा पनि यत्रयत्र बताइएको देखिन्छ। जस्तै—

माता पृथ्वी महीयम्। –ऋग्वेद १।१६४।३३

मा नो माता पृथिवी दुर्मतौ धात्। –ऋग्वेद ५।४३।१५

नमो मात्रे पृथिव्यै। –शुक्लयजुर्वेद ९।२२

तन्माता पृथिवी तत्पिता द्यौः। –शुक्लयजुर्वेद २५।१७

छोराछोरीले आमाको दूध चुस्ने वेलामा प्रसन्न भएर आमालाई खुट्टाले हिर्काउँछन्। यस विषयमा शुक्लयजुर्वेदका तल उल्लिखित मन्त्रमा यसरी भनिएको छ— अबोध शिशु हुँदा स्तनपान गर्दै मैले आमालाई गोडाले प्रताडित गरेँ। त्यसैले हे अग्निदेव, म तीन प्रकारका ऋणबाट मुक्त हुन सकूँ, मैले आमाबालाई कष्ट दिएको छैन—

यदा पिपेष मातरं पुत्त्रः प्रमुदितो धयन्।

एतत् तदग्ने अनृणो भवाम्यहतौ पितरौ मया।। –१९।११।

यस उल्लेखबाट पुत्रले पितृऋणको दायित्व लिनुपर्ने र त्यो ऋण वेदविहित कर्महरूको अनुष्ठान गरेर उसले तिर्नुपर्ने कुरा स्पष्ट हुन्छ।

दिदीबहिनीसित दाजुभाइको सम्बन्ध

दिदीबहिनीहरूको दाजुभाइसित अथवा दाजुभाइहरूको दिदीबहिनीसित स्नेहपूर्ण सम्बन्ध हुने कुरा वेदमन्त्रहरूले सूचित गरेका छन्। ऋग्वेदको एउटा ऋचामा  १।६५।७) आएको “भ्रातेव स्वस्राम्” भन्ने पदावलीका व्याख्यामा सायणले दाजुभाइ दिदीबहिनीको हितकारीे हुने कुरा बताएका छन्। त्यसैगरी ऋग्वेदमा नै “हाम्रो र तिम्रो मित्रता दाजुभाइ र दिदीबहिनीका बीचको मित्रताजस्तै कल्याणकारी होस्” भन्ने आकांक्षा राखिएको देखिन्छ— जामिवदस्मे ते सन्तु सख्या शिवानि १०।२३।७)। यस उक्तिबाट पनि दाजुभाइको दिदीबहिनीहरूसित स्नेहपूर्ण व्यवहार हुने गर्दछ भन्ने कुरा सूचित भएको छ।

यद्यपि छोरीले पितृकुलबाट अंश पाउँदिन, तथापि पिता र दाजुले उसलाई राम्ररी पालन–पोषण गरेर योग्य वरलाई दिनुपर्छ भन्ने कुरा ऋग्वेदमा बताइएको छ—

न जामये तान्वो रिक्थमारैक् चकार गर्भं सनितुर्निधानम्।

यदी मातरो जनयन्त वह्निमन्यः कर्ता सुकृतोरन्य ऋन्धन्।। –३।३१।२

अर्थात्— दाजुले बहिनीलाई अंश दिएन, किन्तु उसलाई गर्भधारण गर्न समर्थ बनाएर पालन–पोषण गर्‍यो। पिता–माताले छोरा र छोरीलाई जन्माउँछन्। किन्तु एकै प्रकारले जन्माइएका सन्तानमध्ये छोरो पिताकै वंशवृद्धि गर्ने हुन्छ, छोरीचाहिँ पालन–¬पोषण गरेर अरूलाई दिइन्छे। यसरी छोराका र छोरीका स्थितिमा केही फरक हुन्छ। तथापि, उनीहरू आ–आफ्ना कर्तव्यमा लाग्ने र परस्परमा स्नेहपूर्ण व्यवहार गर्ने गर्दछन्। दायभागका रूपमा विवाहित छोरीले पैत्रिक धनसम्पत्ति नपाए पनि दाइजोका रूपमा उसले पनि माइतीको केही धनसम्पत्ति पाउने नै वैदिक व्यवस्था छ।

स्त्रीको पितृकुलसित सम्बन्ध

ऋग्वेदको एउटा ऋचामा अविवाहित कन्या पनि पिताकै घरमा बसेर माता–पिताको सेवा गर्ने र दाजुभाइले भैmँ उसले पनि अंश पाउने कुरा सूचित गरिएको छ। जस्तै—

अमाजूरिव पित्रोः सचा सती समानादा सदसस् त्वामिये भगम्।

कृधि प्रकेतमुप मास्या भर दद्धि भागं तन्वो येन मामहः।। –२।१७।७

अर्थात्— हे इन्द्र, पितृगृहमा बसेर आमा–बाको सेवा गर्दै गरेकी बुढी कन्याले उनीहरूसित जसरी आफ्नो भाग माग्दछे, त्यसै गरी म स्तुतिकर्ता पनि तपाईंसित धन माग्दछु। यस उल्लेखबाट माइतीमा बसेर कन्याले पनि  माता–पिताको सेवा गर्ने र अंश पाउने कुराको सङ्केत मिल्छ। यस्तो व्यवस्था शाश्वत न्यायको पनि अनुकूल नै देखिन्छ।

अथर्ववेदको एउटा ऋचामा त दाजुभाइ नभएका स्त्रीहरू विवाहितै भए पनि पितृकुलमा नै बस्दछन् भन्ने सङ्केत पाइन्छ—

अमूर्या यन्ति योषितो हिरा लोहितवाससः

अभ्रातर इव जामयस् तिष्ठन्तु हतवर्चसः।। –१।१७।१

ऋग्वेदको एउटा ऋचामा दाजुभाइ नभएका स्त्रीहरू पितृकुलमा पिण्डदानादि कार्य गर्न पतिका घरबाट पिताका घरमा आउँछन् भन्ने भाव व्यक्त भ्एको पाइन्छ—

अभ्रातेव पुंस एति प्रतीची गर्तारुगिव सनये धनानाम्।

जायेव पत्य उशती सुवासा उषा हस्रेव नि रिणीते अप्सः।। –१।१२४।७

यसबाट दाजुभाइ नभएका स्त्रीहरूको कर्तव्य पितृकुलप्रति पनि हुन्छ र त्यस्ती स्त्रीले पितृकुलबाट अंश पनि पाउँछे भन्ने कुरा स्पष्ट हुन्छ। यस्तो प्रचलन स्वाभाविक नै हो भन्ने देखिन्छ।

पुत्रीको पितासित सम्बन्ध

पुत्रीको पितासित कस्तो प्रकारको सम्बन्ध हुन्छ भन्ने कुरा पनि वेदमन्त्रमा नै सङ्केत गरिएको छ। यद्यपि वंशको निरन्तरताका लागि वंशधर पुत्रको आवश्यकता वेदमा धेरैतिर बताइएको छ, तथापि पुत्र नभए पुत्री नै पिताको वंशको पनि उत्तराधिकारी हुने कुरा पनि ऋग्वेदमा भनिएको छ। जस्तै—

शासद् वह्निर्दुहितुर्नप्त्यं गाद् विद्वाँ ऋतस्य दीधितिं सपर्यन्।

पिता यत्र दुहितुः सेकमृञ्जन् सं शग्म्येन मनसा दधन्वे।। –३।३१।१

अर्थात्— विवाहित पुरुषले प्रजननरूपी यज्ञको विधान जानेर त्यसमा आदर गर्दै पुत्रीका पुत्रलाई अर्थात् दौहित्रलाई आफ्नै पुत्र मानेर उसैसित जान्छ। जब पिताले कन्याका निम्ति पतिको व्यवस्था गर्छ, तब मन प्रसन्न भएर आश्वस्त हुन्छ। अर्थात् पुत्र–पुत्री दुवैका निम्ति प्रजननप्रक्रिया समान नै हुने भएकाले पिताले पुत्रीलाई पनि पुत्रसमान नै मान्छ, अनि मृत्युपछि दौहित्रबाट  (छोरीका छोराबाट) पनि पुत्रबाट झैँ  पिण्डपानी पाउने हुनाले पुत्रीको विवाहपछि ऊ पुत्रहीन भएको सन्तापबाट मुक्त हुन्छ। यस ऋचाबाट पुत्रीको पितासित कति र कस्तोसम्मको सम्बन्ध हुन सक्छ भन्ने विषयमा केही स्पष्ट हुन्छ। यस्ता स्थितिमा दौहित्रको मातृकुलप्रति पनि विशेष दायित्व हुने देखिन्छ।

विवाहमा अचेल पनि पिताले पुत्रीलाई वहतु  उपहार वा दाइजो दिन्छन्। यस्तो व्यवहारको उल्लेख वेदमा नै पाइन्छ। ऋग्वेदमा  १०।८५।१३) र अथर्ववेदमा  १४।१।१३) सविताकी छोरी सूर्याको सोमसित विवाह हुँदा पिताले उनलाई दिइएको उपहारको उल्लेख छ—

सूर्याया वहतुः प्रागात् सविता यमवासृजत्।

पुरुषहरूद्वारा बोकेर ज्वाइँका घरमा पुर्‍याइने हुनाले वहतुशब्दले छोरीसित प्रीतिपूर्वक पठाइने लुगाफाटा, गरगहना इत्यादि द्रव्यलाई बुझाउँछ। वेदमा र अन्यत्र पनि यस्तै उल्लेख पाइन्छ। यसबाट पिताका निम्ति पुत्री स्नेहपात्र हुने कुरा स्पष्ट हुन्छ। साथै गृहस्थधर्म चलाउन सहायता पुर्‍याउने उद्देश्यले नै छोरीलाई दाइजो यथाशक्ति दिइने चलन चलेको हो भन्ने कुरा पनि स्पष्ट हुन्छ।

पितृहरूसित सन्ततिको सम्बन्ध

दिवङ्गत पिता, पितामह इत्यादि आफ्ना पूर्वजहरूसित पनि वैदिक धर्मका अनुयायी आर्यहरूको सम्बन्ध आजीवन रहने देखिन्छ। जन्मनेबित्तिकै व्यक्ति देवऋण, ऋषिऋण र मनुष्यऋणका साथै पितृऋणले समेत युक्त हुन्छ भन्ने सिद्धान्त वेदमै प्रतिपादित छ—

ऋणं ह वै जायते योऽस्ति स जायमान एव देवेभ्य ऋषिभ्यः पितृभ्यो मनुष्येभ्यः। –शतपथब्राह्मण १।७।२।१

अतः सन्तति जन्माएर, तिनलाई सुसंस्कृत बनाएर वैदिक ¬धर्मको अनुष्ठानको अविच्छिन्नताको व्यवस्था गरेर तथा पितृकों नित्य तर्पण र श्राद्ध गर्ने गरेर पितृऋणबाट मुक्त हुन सकिन्छ। पिता, पितामह र प्रपितामहरूपी पितृहरूका निम्ति श्राद्धका वेलामा पिण्डरूपी अन्नको दान गर्ने र नमस्कार गर्ने गर्नुपर्छ भन्ने शास्त्रीय व्यवस्था छ। श्राद्धमा प्रयोग गर्ने मन्त्र वेदमा नै पाइन्छ—

पितृभ्यः स्वधायिभ्यः स्वधा नमः पितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः प्रपितामहेभ्यः स्वधायिभ्यः स्वधा नमः। अक्षन् पितरोऽमीमदन्त पितरोऽतीतृपन्त पितरः पितरः शुन्धध्वम्। –शुक्लयजुर्वेद १९।३६

पिता, पितामह र प्रपितामहरूपी पितृहरूले हामीलाई पवित्र र शतायु बनाऊन् भनेर आशीःप्रार्थना पनि शुक्लयजुर्वेदमा गरिएको छ—

पुनन्तु मा पितरः सोम्यासः पुनन्तु मा पितामहाः पुनन्तु प्रपितामहाः पवित्रेण शतायुषा। पुनन्तु मा पितामहाः पुनन्तु प्रपितामहाः पवित्रेण शतायुषा विश्वमायुव्र्यश्नवै। –१९।३७।

यसप्रकार स्वर्गीय पितृहरूसित पनि श्राद्ध र तर्पणद्वारा वैदिधर्मानुयायीहरूको श्रद्धापूर्ण सुसम्बन्ध निरन्तर रहीरहने कुरा स्पष्ट हुन्छ। पुर्खाप्रति कृतज्ञता र श्रद्धा व्यक्त गर्ने परिपाटी अरू परम्परामा पनि देखिन्छ।

निष्कर्षः

कुटुम्ब भनेको पति, पत्नी, छोरा, छोरी, आमा, बा, दाजुभाइ, दिदीबहिनी, पितामह  (हजुरबा), पितामही  हजुरआमा) इत्यादिको समूह हो। कुटुम्बधर्मका विषयमा स्मृति–पुराणहरूमा मात्र होइन वेदमा समेत धेरै कुरा बताइएको छ। कुटुम्बका सबै व्यक्तिले परस्परमा राम्रो व्यवहार गर्नुपर्छ। उनीहरूको विचार, बुद्धि, धर्म र कर्म उस्तै हुनुपर्छ। सानाले ठूलालाई आदर र ठुलाले सानालाई स्नेह गर्नुपर्छ। गृहस्थधर्मको पालन गर्नका निम्ति पति र पत्नीको सम्बन्ध अविच्छेद्य तथा विशिष्ट हुन्छ। पतिकै आधा अङ्ग पत्नी हो। सन्ततिले माता–पिताको धर्म–कर्मलाई निरन्तरता दिएर कुलपरम्परा धान्नुपर्छ। तीन पुस्ताको संयुक्त परिवार मिलेर एउटै घरमा बस्नुपर्छ। हजुरबा र हजुरआमाले नातिनातिनाहरूसित खेल्दै–रमाउँदै उनीहरूलाई परम्परागत व्यवहारका कुरा सिकाउनुपर्छ। यी र यस्तैयस्तै अन्य कुरा पनि वेदका ऋचा र मन्त्रहरूको अध्ययनबाट बुझ्न सकिन्छ। यसरी वेदबाटै हाम्रो सामाजिक र कौटुम्बिक सम्बन्धको र व्यवहारको तथा मूल्य र मान्यताको आदर्श स्वरूप जान्न सकिन्छ।

वैदिक परम्पराका उपर्युक्त कुराहरूको वैदिक हिन्दु धर्मका अनुयायीहरूले पालन गर्नाले उनीहरूको यस लोकमा र परलोकमा पनि कल्याण हुने देखिन्छ। आदिकवि भानुभक्त आचार्यको वधूशिक्षा, भीमनिधि तिवारीको वरशिक्षा र पाल्पाका छविलाल नेपालको पुत्रशिक्षाजस्ता ग्रन्थ पनि नेपाली भाषामा कौटुम्बिक, धार्मिक र नैतिक शिक्षाका निम्ति बनेका थिए। आजभोलिका परिस्थितिमा लोककल्याणकारी वैदिक सिद्धान्तको जानकारी दिने धार्मिक र नैतिक शिक्षाका पाठ्यपुस्तकको पठनपाठन चलाउनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिन्छ। तसर्थ अभिभावकले बालबालिकालाई घरमा र विद्यालयले विद्यालयमा परम्परागत मूल्य–मान्यता सिकाउँदै नैतिक व्यवहारको शिक्षा दिनु आजको आवश्यकता हो।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्