काठमाडौँ – काठमाडौँ उपत्यकाका नेवार समुदायले बुधबार पाहाँ चह्रे पर्व मनाएका छन्। यो पर्व हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म मनाउने गरिन्छ। पाहाँ चह्रे पर्व नेवार समुदायको दसैंपछिको ठूलो पर्व हो।

चन्द्रमासको क्यालेन्डरअनुसार चौधौँ दिनलाई चह्रे भनिन्छ। जुनदिन पर्व सुरु हुन्छ। यस पर्वमा नेवार समुदायले विभिन्न शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्छन्।

पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा रहेको छ।

पाहाँचह्रे पर्वको दोस्रो घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ। ८४ व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ।

पाहाँ चह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ।