एसिडपीडित आरती साहका श्रीमान्लाई साढे १० वर्ष कैद र ६ लाख जरिवानाको फैसला सदर

वीरगञ्ज – धुनुषाकी एसिडपीडित आरती साहका श्रीमान्लाई साढे १० वर्ष कैद र ६ लाख जरिवानाको फैसला उच्च अदालतबाट पनि सदर भएको छ। बुधबार उच्च अदालत जनकपुरको चार नम्बर इजलासका न्यायाधीशद्वय डालकुमार खड्का र सागर बिष्टको इजलासबाट जिल्ला अदालतले गरेको फैसला नै सदर गरेको हो।
एसिड प्रहार गर्ने आरतीका पति सञ्जीवलाई जिल्ला अदालतले २५ साउनमा दोषी ठहर गरी कैद र जरिवानाको सजाय निर्धारण गरेको थियो।
सञ्जीवे जिल्लाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए। उक्त मुद्दामा जाहेरीवाला आरती शाहको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए भने विपक्षीको तर्फबाट अधिवक्ता अरुणकुमार यादवले बहस गरेका थिए। अधिवक्ता आचार्यसहित आफूले सुरुदेखि नै यस मुद्दामा आरतीको तर्फबाट निःशुल्क बहस गर्दै आएको अधिवक्ता यादवले जानकारी दिइन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नी पत्नी आरती साहमाथि ०७७ साल कात्तिक २९ गते दीपावलीको दिन एसिड प्रहार गरेका थिए।