अझै निर्माण अगाडि बढेन कर्णाली करिडोरको स्याम्ने सडकखण्ड

सिमकोट – कर्णाली करिडोरको स्याम्नेदेखि सिमकोट खण्डको सडक निर्माण अझै अगाडि बढ्न सकेको छैन। सिमकोट गाउँपालिका– ५ का स्थानीयले क्षतिपूर्तिको माग गर्दै आएका थिए।

स्थानीयको विरोधपछि ०७७ साल चैतबाट उक्त खण्डको सडक निर्माण रोकिएको हो। जग्गाधनीले खेत योग्य जग्गामा सडक निर्माण हुँदा त्यसको क्षतिपूर्तिको माग गर्दा हिल्सा सिमकोट सडक आयोजनाले त्यसको व्यवस्था नगर्दा जग्गाधनीको विरोधमा सडक निर्माण रोक्नुपरेको बताए। यसअघि सिमकोटदेखि स्याम्ने खण्डकै सडक निर्माण गर्न स्थानीयले मेलगुडी, मैनागाडा, थलाहाल्न, ओलढुंगा, मेलबिसौना, बचुुनधाराडाँडा, स्यागस्याग हुँदै ठ्यालेचौरसम्मको आठ किमि जग्गा दिए पनि अहिले आयोजनाले सो सडकलाई मान्यता नदिँदा अर्को स्थानमा लिन खोजेपछि काम रोक्नुुपरेको जग्गाधनीको भनाइ छ।

उक्त सडकबाट सिमकोट खार्पुखण्डमा यातायातका साधन सञ्चालन हुँदै आएका छन्। उक्त सडकमा परेको जग्गा नेपाल सरकारको नाममा समेत स्थानीयले पास गरिसकेका छन्। तर, सोबापत क्षतिपूर्ति र मुुआब्जा नपाउने भएपछि सडक निर्माण रोक्नुुको विकल्प नभएको उनीहरूको भनाइ छ।

स्थानीयले गुुगलबाट पछिल्लो सडकको डिपिआर गरेको आरोप लगाएका छन्। हाल आयोजनाले डिपिआर तयार गरी टेण्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरेको सडक ठालेचौर, गनढुुस्का, कालढुंगा, हुमानेखोला, पिप्लेडी हुँदै आवासीय विद्यालयसम्म छ।

यसका लागि स्थानीय प्रशासनको रोहवरमा क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय भए पनि आयोजनाबाट त्यसलाई अगाडि बढाउने कार्य हुन सकेको छैन। आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले तीन वर्षदेखि कर्णाली करिडोरको स्याम्नेबाट आवासीय विद्यालय क्षेत्रसम्मको सडकको तीन वर्षदेखि निर्माण अगाडि बढ्न नसकेको बताए।

सडक निर्माण अगाडि बढाउन प्रयास गरिए पनि स्थानीयको साथ नपाएको भन्दै उनले आयोजनाले क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको बताए। यद्यपि, सडक निर्माण अगाडि बढाउनका लागि स्थानीयसँग छलफल जारी रहेको आयोजनाले जनाएको छ।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्