गढवाको पर्साबाट लागुऔषधसहित पाँच जना पक्राउ

दाङ – दाङम प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका– २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी, वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार, वडा नम्बर ४ उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का प्रदीप चौधरी र घोराही उपमहानगरपालिका– १५ भरतपुर निवासी वर्ष १९ का त्रिशक्ति बर्तौला छन्।

गढवा गाउँपालिका– ४ पर्सास्थित एक खाली घरमा गएराति साढे ११ बजे ती व्यक्ति लागुऔषधसहित बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

पक्राउ परेका उनीहरुको साथबाट लागुऔषधजस्तो देखिने खैरो पदार्थ अन्दाजी ९ दशमलब २८ मिलि ग्राम फेला परेको प्रवक्ता गौतमको भनाइ छ। पक्राउ परेका पाँचै जनाबिरुद्ध मुद्दा दर्ता भई आवश्यक अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले बताएको छ।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्