पोखरामा पाटा शिखर सम्मेलन गरिँदै

पोखरा – मध्यजेठमा पोखरामा पाटा शिखर सम्मेलन गर्ने तयारी थालिएको छ। नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसनको आयोजनामा जेठ १५ देखि १८ गते (मे २९ देखि जुन १) सम्म पाटा शिखर सम्मेलन र एड्भेन्चर मार्ट हुँदै छ।
पोखरामा नेपालमै पहिलो पटक पाटा शिखर सम्मेलन आयोजना गरिएको हो। एडभेन्चर मार्ट भने तेस्रो पटक नेपालमा हुँदै छ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय वा लेकसाइडमा सम्मेलन गर्ने तयारी भइरहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए।

पाटा शिखर सम्मेलन १५ देशका पाटा कार्यकारी बोर्ड सदस्य र एडभेन्चर ट्राभल मार्टमा ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहने रेग्मीले जानकारी दिए।

यो सम्मेलनले पोखराको पर्यटन प्रबद्र्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्र्न सघाउन पुग्ने उनको विश्वास छ। ‘सम्मेलनले गर्दा बढी भन्दा बढी पर्यटकलाई आकर्षित गर्न सक्छौं’, रेग्मीले भने।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनाले थलिएको पर्यटनलाई उठाउन पाटा सम्मेलन सहयोगी हुने बताए। ‘पूर्वलयमा लैजान अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्थापित गर्न असाध्यै जरुरी छ’, उनले भने।

पाटा नेपालका महासचिव पर्यटन क्षेत्रमा आएको उतारचढावलाई पुनरुत्थान गर्न सम्मेलन आयोजना गरेको बताए। अन्तर्राष्ट्रिय पर्यटन उद्योगमा ख्याती कमाएका वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, सहासिक र पर्वतीय पर्यटनलगायत विषयमा छलफल र अन्तरक्रिया गर्नेछन्।

पाटा शिखर सम्मलेन तथा एड्भेन्चर मार्टमा विश्वका प्रसिद्ध ब्लगरहरुले समेत सहभागिता जनाउने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्