सिम्रौनगढ नगरपासिलकामा लगाइएको ताला खोलिने, पाँच बुँदे सहमति

वीरगञ्ज – बाराको सिम्रौगढ नगरपालिकाको कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने निर्णय गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको रोहवरमा बुधबार बसेको बैठकले विभिन्न ५ बुँदे सहमति गर्दै तालाबन्दी खोल्ने निर्णय गरेको हो।

सिम्रौगढ नगरपालिकाका करार, अस्थायी एवं ज्यालादारी कर्मचारीको म्याद थप गर्ने वा नगर्ने विषयमा विवाद उत्पन्न हुँदा ८ जना वडाध्यक्षले नगरपालिकाको कार्यालयमा आइतबारदेखि तालाबन्दी गरेका थिए।

वडाध्यक्षहरूले नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, जिन्सी शाखालगायतमा तालाबन्दी गरेका थिए।

बैठकले सिम्रौनगढ नगरपालिकामा स्थायी कर्मचारी पदपूर्ति नभएसम्म साविकका स्थानीय निकायबाट नियुक्ति भई हाल नगरपालिकामा कार्यरत कर्मचारी, सिम्रौनगढ नगरपालिकाबाट नियुक्ति हालसम्म अविछिन्न रुपले कार्यरत कर्मचारी, प्राविधिक कर्मचारी एवं नगरपालिकालाई प्राप्त हुने ससर्त अनुदान शीर्षकबाट सेवा–सुविधा पाउने गरी प्रक्रिया पूरा गरेर नियुक्ति भएका कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको छ।

त्यस्तै, कर्मचारी नपुगेमा नगरपालिकामा काम गर्दै आएका कर्मचारीलाई प्राथमिकतामा राखी वडाको सिफारिसमा अर्को व्यवस्था नभएसम्म कामकाज लगाउने निर्णय भएको छ। सिम्रौनगढ नगरपालिकाले स्थायी कर्मचारी पदपूर्ति गर्न नगरपालिकामा स्वीकृत भएका सबै तहको दरबन्दीलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी अविलम्ब प्रदेश लोकसेवा आयोग, जनकपुरमा स्थायी पदपूर्ति गर्न लेखी पठाउने बैठकमा निर्णय गरिएको छ।

यसैगरी, नगरपालिकाको योजना शाखामा कार्यरत जितेन्द्र यादवलाई अन्य काममा लगाउने र विद्यमान इञ्जिनियरमध्ये नगरप्रमुखले नै योग्य इञ्जिनियरलाई योजना प्रमुखको जिम्मेवारी दिने निर्णय बैठकमा भएको हो। बैठकमा नगरपालिकाका मेयर, वडाध्यक्ष प्रहरी प्रशासनलगायत सहभागी थिए।

 

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्