बेहोस बनाएर नियन्त्रणमा लिइयो पोखरियामा बस्तीमा पसेको चितुवा

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्तीमा छिरेको चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिइएको छ।
पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवालाई बेहोस पारेर नियन्त्रणमा लिइएको हो।
बिहानैदेखि गोठघरमा बसेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बेहोस बनाएर नियन्त्रणमा लिएको स्थानीय पत्रकार शैलेश गुप्ताले जानकारी दिए।
जंगलबाट बुधबार बिहान बस्तीमा छिरेको चितुवाले एक प्रहरीसहित तीन जनालाई घाइतेसमेत बनाएको थियो। चितुवाको आक्रमणमा परेर पोखरिया नगरपालिका–४ सतवरिया टोलका दिल महम्द मियाँ, जोगन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका थिए।
गम्भीर घाइते भएका मियाँको नारायणी अस्पतालमा उपचार भइरहेको छ। यसअघि चितुवालाई नियन्त्रणमा लिन प्रहरी, डिभिजन वनको टोली प्रयास गरे पनि नियन्त्रणमा चितुवा आउन सकेको थिएन। चितुवा नियन्त्रणमा आएपछि स्थानीयबासीले राहत महसुस गरेका छन्।