शुक्रबारदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

धनगढी – यही शुक्रबार देखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुने भएको छ। सुदूरपश्चिम साहित्य समाजको आयोजनामा हुने महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने छ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरि साहित्य समाजले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तीर्थराज पाण्डेयले महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए।
अध्यक्ष पाण्डेयले महोत्सव आयोजनाका लागि मुल आयोजक समिति तथा डेढ दर्जन बढी उपसमितिहरु गठन भएका बताए। साहित्य समाजको प्रांगणमा हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
महोत्सवमा पहिलो साहित्य छलफलमा “परिवर्तनका कुरा कति पूरा, कति अधुरा रु” शिर्षक सत्रमा प्रधानमन्त्री प्रचण्ड प्रमुख वक्ता रहेको सत्रको अद्भूत प्रतिभा बालिका प्रेन्सा रेग्मीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरे “जीवन काँडा कि फूल मौन आवाज, मौन अभिव्यक्ति” शिर्षक सत्रको आकर्षक रहने छिन्।
स्थापित सामाजिक नेतृत्व अनुराधा कोइराला “अनुराधासँग अनुराधाहरू” मा मुख्य वक्ताका रुपमा प्रस्तुत हुने छिन्। प्रशिद्ध साहित्यिक स्रष्टा राजेन्द्र विमल “के हो देश जोड्ने कडी रु” अर्को आकर्षण हुने छ। “समाज, साहित्य र राजनीतिको अन्तर्संबन्ध” मा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता प्रदीप ज्ञवाली वक्ताका रुपमा रहनेछन्।
साहित्य समाजका अध्यक्ष पाण्डेयका अनुसार तीन दिनसम्म २४ वटा शिर्षकमा साहित्य संवाद सञ्चालन हुनेछन्।
महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति– गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र रनपुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौंरा थारुको लठौवा नाच प्रस्तुत हुनेछन्।
अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कारद्वारा सम्मान गरिने छ। सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ।