साफ यू-१७ च्याम्पियनसिप: नेपाली किशोरीको पहिलो जित

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाली किशोरी टोलीले पहिलो जित हात पारेको छ। नेपालले आफ्नो दोस्रो खेलमा भुटानलाई ५-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवातबाटै हावी भएको नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गरेको थियो। नेपालको जितमा वर्षा ओली र सेनु परियारले समान २-२ गोल गर्दा अर्को एक गोल दीपा रोकायाले गरेकी थिइन। जितसँगै नेपालले २ खेलबाट ३ अङ्क जोड्दै अङ्क तालिकामा खाता खोलेको छ। पराजित भुटान भने अङ्क बिहीन रहेको छ।

यसअघि नेपालले सोमबार भएको पहिलो खेलमा भारतसँग ४-१ को हार भोगेको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ। अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्