युरोपा छनोटमा भिड्दै इटाली र इंग्ल्यान्ड, साउथगेट र मान्सिनी दुवै चाहन्छन् फरकपन

ग्यारेथ साउथगेट र राेबर्ट मान्सिनी।

विश्वकप छनोट नै हुन नसकेर आलोचित बनेको इटाली र विश्वकपको क्वाटरफाइनल पुगेर बाहिरिएको इंग्ल्यान्डबीच बिहीबार युरो २०२४ को छनोटमा प्रतिस्पर्धा हुँदैछ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्ना खेलाडीलाई विश्वकपको निराशा भुलेर युरो यात्रा सुरु गर्न प्रेरित गरिरहँदा इटालीका प्रशिक्षक रोबर्ट मान्सिनी भने अब पूराना कुरा सम्झिएर केही नहुने भन्दै टिम फरक तरिकाले मैदानमा उत्रिनु पर्ने बताउँछन्।

समग्रमा युरो छनोटमा सकरात्मक नतिजा निकाल्दै दुवै टिम छनोटबाटै दावेदारी देखाउन मैदानमा उत्रिँदै छन्। इटालीको नेपल्सस्थित अर्मान्डो म्याराडोना रंगशालामा हुने खेलमा साउथगेटका लागि सबैभन्दा ठूलो चुनौती भनेकै इटालियन मैदान बन्न पुगेको छ।

जहाँ इंग्ल्यान्डले सन् १९६१ यता इटालीलाई उसको मैदानमा हराउन सकेको छैन। त्यसाे त इंग्ल्यान्डको इटालीसँगको निरीहता पनि पनि एक दशक कटेको छ। अर्थात् विगत ११ वर्षदेखि इटालीविरुद्धको खेल इंग्ल्यान्डले जित्न सकेको छैन।

पछिल्लो पटक इटालीलाई स्विट्जरल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा २०१२ मा इंग्ल्यान्डले २-१ ले हराएको थियो। त्यसो त इटालीविरुद्ध निरीह इतिहास बोकेको इंग्ल्यान्डले १९८० यता खेलेका १७ खेलमा केवल २ वटामा मात्रै जित निकालेको छ।

५ खेलमा बराबरी हुँदा बाँकी सबै खेलमा इटाली विजयी भएको छ। समग्रमा भने ३० खेलमा इटालीले १३ मा जित निकाल्दा इंग्ल्यान्डले ८ खेल जितेको छ। त्यस्तै, ९ खेल बराबरी भएका छन्।

इंग्लिस टिमले इटालीलाई अन्तिम पटक हराएको सन् २०१२ को मैत्रीपूर्ण खेलमा हो। त्यसबेला स्विट्जरल्यान्डमा भएको खेलमा इंग्ल्यान्डलाई २-१ ले जिताउन फिल जागिएल्का र जर्माइन डेफोले गोल गरेका थिए।

साउथगेट इटालीको विषयमा भन्छन्, ‘हामीले बलिया टिमहरूसँगको खेल जित्न सुरु गर्नुपर्छ। हामीले केही समययता ठूला टिमसँग बलियो प्रदर्शन गरिरहेको त छौँ। तर हाम्रो प्रदर्शनमा स्थिरता छैन।’

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेट।

उनले इटालीलाई उसको मैदानमा हराउँदै नयाँ इतिहास रच्नु पर्ने बताए। उनले भने, ‘त्यहाँ नजितेको वर्षौँ भइसक्यो। सन् १९६१ पछि नजित्नु आफैंमा इतिहास हो। यसलाई भत्काउनु पर्छ।’

इटालीसँगको भीडन्त इंग्ल्यान्डका कप्तान ह्यारी केनका लागि समेत सम्झनलायक बनाउने अवसर रहेको छ। घरेलु टिमविरुद्ध कम्तीमा एक गोल गरे उनी इंग्ल्यान्डको उच्च गोलकर्ता बन्नेछन्।

इंग्ल्यान्डका कप्तान ह्यारी केन।

हाल उनको र वायन रुनीको नाममा ५३-५३ गोल छ। विश्वकपमा फ्रान्सविरुद्ध पेनाल्टी खेर नफालेको भए उनले इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाइसक्थे।

‘कीर्तिमान राख्नेगरी खेल्नका लागि केन तयार छन्। उनी इंग्ल्यान्डको जर्सीमा फेरि एकपटक आफूलाई प्रमाणित गर्नेमा मलाई विश्वास छ’, साउथगेटले भने।

त्यसो त इटालीका लगि गत वर्ष बिर्सनलायक रह्यो। विश्वकपमा छनोट हुन नसक्नुको पीडा एकातिर रहँदा अर्कोतर्फ मान्सिनीले आफ्ना सहायकलाई क्यान्सरका कारण गुमाए। जसले गर्दा समग्र टिम नै अन्तर्राष्ट्रिय खेलअघि भावनात्मक बन्ने छ।

इटालीका प्रशिक्षक रोबर्ट मान्सिनी।

इंग्ल्यान्डसँगको खेल सुरु हनुअघि इटालीले जियानलुका भियाल्लीलाई सम्झिनेछ। प्रशिक्षक रोबर्टो मान्सिनीका सहायक रहेका भियाल्लीको गत जनवरीमा ५८ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो।

मान्सिनीले भने, ‘भयाल्लीको सम्झनाले हामी सबैलाई भावुक बनाउँछ। उनको निधनपछि पहिलो खेल खेल्दैछौँ। त्यसैले उनको सम्मानमा पनि यो खेल हाम्रो लागि थप अर्थपूर्ण बनेको छ।’

उनले भियाल्लीसँगको लामो सम्बन्धले हरेक पटक ऊर्जा दिएको पनि बताए। ‘उनीसँग मैले सँगै खेले। सँगै टिमलाई प्रशिक्षण गरायौँ। उनी सबैभन्दा ऊर्जावान थिए। हाम्रो स्मृतिमा बलियोसँग बसेका छन्। त्यसैले उनी हाम्रो वरिपरि नै रहने छन्’, मान्सिनीले भने।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्