पत्रकारको भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको कोष स्थापना गर्नेछाैँ: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा बताएका हुन्।

उनले सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए।

भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामुलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘प्रेससम्बन्धी आवश्यक कानुनहरूको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारूप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानुनी रूपमा देखिएका समस्या र उल्झनहरू सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउँछु। सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछु। पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ।’

प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता पनि जनाए।

उनले आफ्नो तेस्रो पटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरू थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको पनि बताए।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्