काठमाडौँ मेडिकल कलेजका आवासीय चिकित्सकहरू आन्दोलित, निलम्बन फिर्ता गर्न माग

काठमाडौँ मेडिकल कलेज। तस्बिर: राज सरगम

काठमाडौँ- सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा आवासीय चिकित्सकका रूपमा खटाइएका चिकित्सकहरू आन्दोलित भएका छन्।

चैत्र ३ गते आपतकालीन कक्षमा ड्युटी गरिरहेका एक आवासीय चिकित्सकलाई केएमसीको व्यवस्थापक अनुगमन टोलीले ड्युटीमा लापर्वाही गर्‍यो भन्दै १५ दिनका लागि निलम्बन गरेयता कार्यरत सम्पूर्ण आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

यसअघि आफ्ना माग पूरा गर्नका लागि अस्पताललाई ४८ घण्टे अल्टिमेटम दिँदासमेत अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिएको चिकित्सकहरूले जनाएका छन्।

काठमाडौँ विश्वविद्यालयअन्तर्गतको काठमाडौँ मेडिकल कलेजको प्रवेशद्वारमै आवासीय चिकित्सकहरूले आफ्नो मागको सम्बोधनका लागि बिहीबार पनि ‘पेन डाउन’ गरी आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

चिकित्सकको निलम्बन फुकुवा हुनुपर्ने र उनीहरूको उचित मूल्यांकन हुनुपर्ने भन्दै चिकित्सकहरूले अस्पताल प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका थिए।

विगत २ वर्षदेखि करिब दैनिक रूपमा हुने शिविरहरू, दुवाकोटको इमरजेन्सी तथा ओपिडी सेवा, सामुदायिक सेवाअन्तर्गत सिपाघाट पोस्टिङलगायतका कार्यहरूमा अस्पतालको नियमित सेवाबाहेक पनि खटिएको उल्लेख गर्दै उनीहरूले जनशक्ति व्यवस्थापन नभइरहेको अवस्थामा विभिन्न थप स्थानमा कयौँ पोस्टिङ तयार गरी जबर्जस्ती काममा खटाइएको विषयमा ध्यानाकर्षण गराएका छन्।

आवासीय चिकित्सकहरूले राखेका माग।

अस्पताल व्यवस्थापन समितिले आवासीय चिकित्सकहरूलाई एकतर्फी रूपमा दबाब दिँदै व्यक्तिगत आक्षेपका साथ धम्कीपूर्ण भाषामा पत्र पठाएर निलम्बन गरिएको आन्दोलनमा उत्रिएका एक सर्जरी चिकित्सकले बताइन्।

उनका अनुसार अस्पताल व्यवस्थापकको दवावको कारण आवासीय चिकित्सकले अध्ययन गरेको विषयभन्दा बाहिरको विषयको विज्ञ भएर बिरामीसँग परामर्श दिनुपर्छ। ‘अस्पतालले आवासीय चिकित्सकमाथि दवाव दिनु भनेको बिरामीमाथि संवेदनशिल नहुनु हो’, उनले भनिन्।

उनीहरूले निलम्बित आवासीय चिकित्सकहरूको यथासक्य निलम्बन फिर्ता लिनुपर्ने, इमर्जेन्सी र ओपिडीमा सम्बन्धित विषयका मात्र बिरामी हेर्ने व्यवस्था मिलाउनु पर्ने, शिविरहरूको संख्या किटान तथा व्यवस्थापन गरी आवश्यक मात्रामा मात्रै गराउनु पर्ने, आवासीय चिकित्सकका आधारभूत सेवा, सुविधा यथासक्दो छिटो व्यवस्था गर्नुपर्ने, इमर्जेन्सी विभागको स्तरोन्नती गरी जिम्मेवारीपूर्वक सम्बन्धित विभागलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्ने र विभागमा जनशक्ति व्यवस्थापन तथा स्तरवृद्धि गरी समयानुकूल बनाउनुपर्ने माग अगाडि सारेका छन्।

एक आवासीय चिकित्सकका अनुसार केएमसी अस्पालले जहिल्यै क्याम्पमा पठाउने गरेको बताइन्। ‘हामी ३६ घन्टा ननस्टप ड्युटी गर्छौँ। हामी चुपचाप ड्युटी गर्छौँ तर जहिल्यै क्याप पठाएपछि हामीले के सिक्ने, के पढ्ने? २३ लाख खर्चिएर पढ्न आएको हो, सधैं क्याम्पमा हिँड्न आएको त होइन नि’, उनले भनिन्।

केएमसीका व्यवस्थापकले वार्ताका क्रममा आफ्ना कुरा नसुने अस्पताल छोड्न एकतर्फी दवाव दिएको बताउँछन् अर्का एक आवासीय चिकित्सक। नाम नभन्ने शर्तमा उनले भनिन्, ‘महिनाको २८ दिनसम्म क्याम्प पठाएपछि हाम्रो पढाइ त ह्याम्पर हुन्छ नै। हामीले के सिक्ने?’

छालारोग विशेषज्ञलाई मुटुको बिरामी हेर्न दवाव दिन थालेपछि डराएको बताउँछन्। ‘हेर्नै नसक्ने भन्ने होइन तर अलि संवेदनशील बिरामीलाई हेर्दा भोलि तलमाथि भयो भने के हुन्छ?’, जनरल सर्जरी पढिरहेका एक आवासीय चिकित्सकका भन्छन्, ‘मिस म्यानेज गर्न खोजेर हाम्रो करियरसमेत धरापमा पार्न खोजिएको छ आपतकालीनमा जनशक्ति कम भए त ल्याउने हो तर आवासीय चिकित्सकबाटै सबैथोक गराउँछु भन्नु भनेको अस्पतालको लापर्वाही हो।’

एक महिला चिकित्सकले नराम्राे व्यवहार गरी अस्पतालबाट निस्किने धम्की दिएकाे बताइन्।

‘हामीलाई मिस बिहेब गर्नु हुन्छ। तथानाम भनेर कि लगाएको काम गर नत्र निस्क भनेर धम्काउनु हुन्छ’, एक महिला चिकित्सकले भनिन्, ‘आपतकालीन कक्षमा काम गरिरहेको डाक्टरलाई इन्फेक्सनमा आउँदा एक्कासि देखिनँ/भेटिनँ भन्दै ‘नट फिट मेडिकल प्राक्टिस’ भनेर निलम्बन गर्न मिल्छ। यतिसम्म किन गरियो?’

हाल काठमाडौँ मेडिकल कलेजमा आवासीय चिकित्सक १४५ जना कार्यरत छन्। रिपोर्टिङका लागि देश सञ्चारले केएमसी पुग्दा आन्दोलनरत चिकित्सकका माझ तर्फबाट बोलिरहेका केएमसीका मेडिकल परिषद् प्रमुख केपी शर्माका अनुसार आवासीय चिकित्सकले अनावश्यक माग राखेर राजनीतिक गर्दैछन्। कामलाई ठप्प गरेर आन्दोलित भएका छन्।

‘हामीले सबै आवासीय चिकित्सकलाई काममा फर्किन अनुरोध गरेका छौँ। केयूको रुलअनुसार उहाँहरूले ड्युटी गर्नुपर्छ। तर उहाँहरू अनेक माग राखेर आन्दोलित हुनु भएको छ। दुवै पक्ष बसेर वार्ता गरौँभन्दा बाहिर भीड लगाइरहनु भएको छ’, उनले भने।

आवासीय चिकित्सिकले अस्पताललाई दिनुपर्ने समयको सही व्यवस्थापन नभएका कारण ३६ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता भएको भनिरहँदा शर्माकाे भनाइ छ।

‘आवासीय चिकित्सकबाट प्रमुख विभाग सर्जरी, मेडिसिन, अर्थोमा निश्चित समय छलफलबाट टुङ्ग्या‍‍औँ भनेको हाैँ। तर उहाँहरू रिभोल्टमा जानु भयो’, उनले भने।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्