भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौँ – मानव तस्करीको शिकार भइ जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको भारतबाट उद्धार गरिएको छ।
बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो।
उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो।
यसलाई ‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्यूरोलाई बुझाइएको हो।
उद्धार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ। उनीहरु नुवाकोट, काठमाडौँ, कास्की, खोटाङलगायतका जिल्लाका रहेको बताइएको छ। उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्दामा लाग्नुपर्ने भनिएको बताइन्।
‘मिसन फ्ल्याट’का बारेमा बताँउदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानीय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका चारमध्ये एक युवतीलाई फेला पारेको बताए।
ती युवतीले हराएका बाँकी तीन जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारबाहीमा हराएका दुई जनासहित थप ७ जना नेपाली महिला फ्ल्याटबाट फेलापरेको उनले जानकारी दिए।
कीन इण्डियाका प्रमुख नवीन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरुलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरुको उद्धार गर्न सकिएको हो।
प्राथमिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टीकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले उनीहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौन धन्दा गराउने गरेको खुलेको छ।