एपिएफ र सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडाैँ – विभागीय टिम एपिएफले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा मधेश प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

टियु क्रिकेट मैदानमा टस हारेर पिहलो ब्याटिङ गर्दै मधेश प्रदेशले १९.४ ओभरमा अलआउट हुँदै ५८ रन बनाउँदा अलआउट भएको थियो। जवाफमा उक्त लक्ष्य एपिएफले ७.३ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको थियो। उसका लागि सीता राना मगरले ३६ बलमा ४५ रनको अविजित इनिङ खेल्दा ज्योति पाण्डेले १० बलमा ८ रन बनाएकी थिइन।

त्यसअघि मधेशका लागि युवा ब्याटर साना प्रविनले ४५ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाउँदा अन्य १० खेलाडीले दोहोरो रनमा स्कोर बनाउन सकेनन्। एपिएफका लागि सोनु खड्काले ४ विकेट लिँदा कप्तान सीताराना मगरले ३ विकेट लिएकी थिइन् त्यस्तै रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक–एक विकेट लिएका थिए।

त्यसअघि पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई ५१ रनले हराएको थियो। पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले १३७ रन बनाएको थियो। जवाफमा ललितपुर २० ओभरमा ८६ रनमानै समेटिएको थियो।

गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को टोलीसहित पाँच टिमको सहभागिता छ। लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। १६ चैतमा प्रतियोगिताको फाइनल खेल हुनेछ।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्