नेपाली सेनाको आकार सरकारले तोक्ने हो, स्वघोषित विज्ञले होइनः प्रधानसेनापति शर्मा

पोखरा – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बाहिरी व्यक्तिले नेपाली सेनाको संख्या र साइज तोक्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले भने,‘समय समयमा कसको इशारामा हो बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ। राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरु पनि हुने गर्छ।’

उनले अगाडि थपे, ‘त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ। यो हेर्दा हाँस्यास्पद हो भन्न चाहन्छु।’

उनले आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ नेपाल सरकारले निर्धारण गर्ने उल्लेख गरे । उनले भने, ‘न कि कुनै आइएनजीओ एनजीओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन। नेपाल सरकारको काम हो भनेर म उहाँहरुलाई पनि भन्न चाहन्छु।’

उनले भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरे। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रदत्त जिम्मेवारी भएको उल्लेख गरे।

‘विकास निर्माण, पर्यावरण संरक्षण, विश्व शान्ति स्थापना, विपद् व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरुमा सहयोग गर्ने जिम्मेवारी साथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरु गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौँ’, उनले भने।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्