काठमाडौँ –  पोखरास्थित फूलबारी ब्यारेकमा बिहीबार भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए।

सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ गरी सात जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता थियो।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधि नबिर्सी अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा समाज विकासको लागि भरोसादार व्यक्तिको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताए।

सम्मेलनमा स्याङ्जाका ९२ वर्षीय अवकाशप्राप्त सिपाही गुमानसिंह कार्की र स्वर्गीय सिपाही मनिराज थापा क्षेत्रीकी श्रीमती बाग्लुङकी ८९ वर्षीया एकल महिला श्रीमती मसिकला थापा क्षेत्रीलाई सम्मान गरिएको थियो। यस्तै, सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसपत्र एवं पुरस्कार वितरण गरिएको थियो।

सोही क्रममा चार वा सोभन्दा बढी सन्ततीहरु नेपाली सेनामा रहेका तीन जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ११ जनालाई ह्वील चेयर, बैसाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो।

सम्मेलनकै अवसर पारेर चैत्र ९, १० र ११ गते सैनिक मेडिकल टिमद्वारा फूलबारी ब्यारेकमा स्वास्थ्य शिविर पनि सञ्चालन हुँदैछ।