प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर सहयोग

दाङ–प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो।

बिहीवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नं ४ का अध्यक्ष चिन्त सोमईलगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन्।

‘कृषि पेशालाई आधुनिकीकरण गर्न हाते ट्याक्टरले मद्दत गर्नेछ’, वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमइले भने, ‘कृषि कर्ममा लागत घटाउन र आयआर्जन बढाउने लक्ष्यसाथ काम भइरहेको छ।’ गाउँपालिकाको अनुरोधमा हेफर प्रोजेक्ट नेपालले शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत कृषि औजार वितरण गरिएको हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी दिए।

‘अझै पनि कुटो कोदालाे र हलोको भरमा किसानले खेतबारी जोत्दै आउनुभएको छ। खेती प्रणालीमा आधुनिकीकरण गर्न कृषि औजारका सामग्री हस्तान्तरण गरियो’, वरिष्ठ कार्यक्रम अधिकृत आचार्यले भने, ‘अब किसानलाई खेतबारी जोत्न सजिलो हुनेछ।’

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्