फ्रान्समा पेन्सनको उमेर बढाएको भन्दै विरोध प्रदर्शन

फाइल तस्बिर।

फ्रान्समा पेन्सनको उमेर बढाएको भन्दै विरोध प्रदर्शन भएको छ। बिहीबारको प्रदर्शनमा लाखौँ मानिस सडकमा उत्रिएका थिए।

राजधानी पेरिसमा भएको प्रदर्शनमा झण्डै एक लाख १९ हजार मानिस सहभागी भएको गृह मन्त्रालयले जनाएको छ।

पेरिसमा प्रदर्शनमा उत्रिएका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियाे। प्रहरीले देशभरबाट ८० जना प्रदर्शनकारीलाई पक्राउ गरेकाे छ।

फ्रान्समा अवकाशको उमेर ६४ वर्ष पुर्‍याउने विधेयक ल्याइएको छ, जसकाे विरोधस्वरूप प्रदर्शनी भएकाे हाे।

बिहीबार साँझ प्रदर्शनकारीहरूले टाउन हलमा आगो लगाएका थिए। आगलागीबाट भवनको ढोका नराम्राेसँग जलेको छ। सो क्रममा प्रदर्शनकारीको प्रहरीसँग झडप समेत भएको थियो।

आगो तत्काल निभाइए पनि आगो कसले लगायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘म यो सुधारको विरुद्धमा छु। यहाँ लोकतन्त्रको कुनै अर्थ छैन। हामीसँग कुनै प्रतिनिधित्व छैनन् र हामी त्यसबाट दिक्क छौँ।’

आन्दोलनका कारण रेल यातायात र तेल प्रशोधन कारखानाको काम प्रभावित भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्