आफ्नो समयकी लोकप्रिय समाचार वाचिका- कृष्णा ताम्राकार

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नूहोस्।’ विसं. २०१८ सालपछि रेडियो नेपालबाट प्रशारण हुने समाचारमा सुनिने सशक्त ध्वनि सधैंका लागि विलीन भएको छ। रेडियो नेपालबाट आएको समाचारलाई नेपालभरिका मानिसले विश्वास गर्थे। त्यो विश्वास दिलाउन सक्नेगरी समाचार वाचन गर्थिन्- वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार, उनै ताम्राकारे ८६ वर्षको उमेरमा यो संसारबाट बिदा लिएकी छन्।

पहिलो समाचार वाचिका ताम्राकार नेवार समुदायकी भएर पनि शुद्ध नेपालीमा समाचार भन्नु आफैंमा चुनौती थियो। लेखक, भाषाविज्ञ केदार शर्माका अनुसार कृष्णा ताम्राकारको समाचार वाचनकला नै कमाण्डिङ गर्ने खालको थियो।

‘नेवार समुदायकी कृष्णा दिदीले नेवारी, नेपाली र हिन्दी समाचार स्पष्ट वाचन गर्नु नै चानचुने थिएन, केही अंग्रेजी शब्दलाई नेपालीमा उच्चारण गर्न नआउँदा दूतावासमा फोन गरेर वा त्यही गएर सोध्ने गर्नुहुन्थ्यो’, चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय हुने क्रममा शर्माले सँगै काम गर्दाको अनुभव सुनाए।

पछिल्लो केही वर्षदखि क्यान्सर पीडित ताम्राकार निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन्। रेडियो नेपालमा समाचार मात्रै नभएर विभिन्न रेडियो कार्यक्रम उत्पादन गर्थिन्।

करिब ६० वर्ष रेडियोमा काम गरेकी ताम्राकारले सुरुमा हिन्दी, पछि नेवारी र नेपाली भाषामा समाचार वाचन गरेकी थिइन्। रेडियो नेपालबाट २०४९ सालमा अवकाश लिएर पनि उनी सञ्चारकर्ममै सक्रिय थिइन्।

वातावरणसम्बन्धीको एक कार्यक्रमका क्रममा केही महिना सँगै काम गरेका शर्माले उनको आवाजमाथि फुटकर लेख लेखेको पनि सम्झिए, ‘उहाँसँग सिक्न सकिने धेरै कुरा थिए।’

नेपालकै पहिलो अंग्रेजी समाचार वाचक माइकल चन्दले समाचार वाचनकलामा धेरैथोक सिकेको बताउँछन्।

भन्छन्, ‘मभन्दा धेरै सिनियर मान्छे हुनुहुन्थ्यो उहाँ। आदरणीय व्यक्ति हुनुहुन्थ्यो। समाचार कलामा यहाँबाट मैले धेरै सिकेँ।’

ताम्राकारले कुनै दिन चन्दसँग अंग्रेजीमा समाचार वाचन गर्ने रहर गरेको उनले सम्झिए, ‘माइकल भाइ मलाई अंग्रेजीमा समाचार वाचन रहर छ। सायद स्वस्थ्य साथ दिएको भए दिदीको यो रहर पनि पूरा हुन्थ्यो।’

तीन छोरीका आमा ताम्राकारले समाचार वाचनकलालाई लिएर नयाँ पुस्ता निकै आकर्षित थिए। माइकलका अनुसार नयाँ पुस्ताका लागि समाचार वाचनकलामा दिदी एक विद्यालय थिइन्।

‘उहाँ लेख्नु पनि हुन्थ्यो, पढ्नु पनि हुन्थ्यो र विभिन्न रेडियो कार्यक्रमहरू उत्पादन पनि गर्नुहुन्थ्यो। आवाजमा मिठास त छँदैथ्यो साथै सही उच्चारण, सही स्पीट, सही आरोह-अवरोह थियो उहाँको वाचनमा’, माइकलले सम्झिँदै भने, ‘समाचार वाचन भनेको पहाड उग्लिनुजस्तो र पहाडको टुप्पामा पुगेर एकछिन रेस्ट गरेर फेरि तल उत्रिनुपर्छ भन्नुहुन्थ्यो दिदी।’,

काभ्रेको बनेपामा जन्मिएकी वरिष्ठ रेडियोकर्मी ताम्राकारले नयाँ पुस्तासँग पनि खुलेर काम गर्थिन्।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। उनले ६ महिनाअघि एक टेलिभिजन कार्यक्रममा आफ्नो अनुभव सुनाउने क्रममा यस्तो भनेकी थिइन्, ‘रेडियो नेपालमा त्यसबेला खुला प्रतिस्पर्धाबाट छानिएको हुँ। मेरा प्रत्यासी ७५ जना जना थिए। पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ।’

त्यसबेला उनले १२५ रुपैयाँ मासिक पारिश्रमिक पाउँथिन्।

तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले समेत आफ्नो आवाजको प्रशंसा गरेको रमाइलो क्षण सुनाउदै उनले भनेकी थिइन्, ‘रेडियो नेपालमा त्यतिका वर्ष सेवा गरे तर कहिल्यै तक्मा पाइनँ। अरूले मागे, पाए, म चुपचाप जिम्मेवारी बहनमा लागेँ, मैले पाइनँ। तर त्यसमा दुखेसो छैन।’

उनले एक अन्तर्वार्तामा रमाइलो किस्सा सुनाएकी थिइन्, ‘मेरो आवाज सुनेर दार्जिलिङबाट रेडियो नेपाल आए। भेटेर सोधे- कृष्णा ताम्राकार तपाईं नै हो? मैले हो भनेँ तर उनीहरूले पत्याएनन्। मेरो सामान्य जनजीवनका कारण दिन ल्याएको चकलेट नदिएको घटना पनि छ। मेरो आवाज चर्चित थियो, म थिइन्।’

कृष्णाको आवाज स्वर्गीय राजा वीरेन्द्रले पनि खुब मन पराएको किस्सा बाहिरिएको थियो। लण्डनमा भएको भेटमा सम्बोधन बिना ‘समाचार त खुबै राम्रो पढ्ने हो नि, सधैं नेपाली बोल्ने गर्‍या हो’ भनेकी थिइन्। मैले ‘हैन, म त नेवार, १२ वर्षपछि सिकेको’भने। उहाँले ‘राम्रो छ’भन्नुभयो’, स्वर्गीया कृष्णाले ६ महिनाअघि दिएको अन्तर्वार्तामा भनेकी थिइन्।

रेडियो नेपालमै उनले नासो तथा वन र वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन्। यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन्। उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले ‘वरिष्ठ पत्रकार सम्मान’समेत प्रदान गरेको थियो।

ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन्। पछिल्लो समय पनि उनले इमेज एफएममा ‘उज्यालो’नामक रेडियो कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन्।

रेडियोकर्मी तथा लेखक डा. नवराज लम्साल ताम्राकारका बारेमा भन्छन्, ‘आफ्नो समयकी अत्यन्तै लोकप्रिय समाचार वाचिका हुनुहुन्थ्यो उहाँ।’

लम्सालले रेडियो नेपाली प्रवेश गर्दा ताम्राकार अवकाश प्राप्त भइसकेकी थिइन्। आफूले सँगै काम गर्न नपाए पनि समाचार पढ्ने शैली सिक्न ताम्राकारको वाचनकला बाटै प्रभावित भएको सम्झिए, ‘स्वरको मिठास, शुद्ध उच्चारण महिला स्वरमा सर्वाधिक रुचाइएको समाचार वाचिका हुनुहुन्थ्यो दिदी।’

‘तर आजका पुस्ताले समाचार खर्रर पढिदिए हुन्छ जस्तो गर्छन्, त्यसैले खासै चिनिन्नन् तर उहाँ आत्मसाथ गरेर वाचन गर्नुहुन्थ्यो। त्यसैले समाचार वाचनको दुनियाँमा सधैं कालजयी आवाज उहाँकाे रहने छ’, लम्सालले थपे।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ट्वीटमा लेख्छन्, ‘विशेषगरी समाचार वाचनमा वर्षौँदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज+ यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना।’

‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार्दिक समवेदना व्यक्त गरेका छन्।

ताम्राकारको निधनको खबरले अत्यन्त दुःखी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

उनले ट्वीटमा लेखेको छन्, ‘रेडियो नेपालको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम हो, कृष्ण ताम्राकार। उहाँलाई केही दिन अघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्तै दुःखी छु हार्दिक श्रद्धाञ्जली।’

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्