राम्रा गीतले सधैँ स्थान पाउँछन्, भाइरल समयसँगै हराएर जान्छन्ः गायक डोटेल

काठमाडौँ – गायक रुपक डोटेल ‘जाने भए जाऊ’ बोलको नयाँ गीतमार्फत फेरि दर्शक, श्रोतासमक्ष आएका छन्। गीतमा मनोज चौलागाईंको संगीत र सरिता सापकोटाको शब्द छ।
झन्डै दुई दशकको सांगीतिक यात्रामा ‘सपनी राम्रो देखिनँ, मेरो बोली सुन्दा, वनकी चरी के भन्छे,चोखो माया लाकै हो’लगायत चर्चित गीतहरु पस्किएका डोटेल अहिले नयाँ गीतको प्रचारमा व्यस्त छन्।
२०६१ सालमा नेपाल टेलिभिजनले ल्याएको पहिलो ‘नेपाली तारा’ प्रतियोगितामा भाग लिएर तेस्रो बन्न सफल भएपछि गीत संगीतमा उनी यसरी चम्किन पुगे कि उनले पछाडि फर्किएर हेर्नु परेन।
त्यतिबेला नेपाली तारा टप १० भित्र पर्नेहरुको सामूहिक एल्वम आउँदा रुपकले ‘मेरो जिउने भर तिमी’ बोलको गीत गाएका थिए।
यो नै उनको रेकर्डेड पहिलो गीत हो। त्यसलगत्तै (२०६२) मा उनले गुराँस एल्वम ल्याएका थिए। आठ वटा गीत रहेको यस एल्वमका दुई गीत (नुनढिकीको स्याउली र ए माइली लाहुरेले माया मार्यो नभन)लाई श्रोताले मन पराए।
यसपछि उनले ‘उमंग’, ‘उल्लास’, ‘सानू’ र ‘लभ गुरु’ एल्वम बजारमा ल्याए। फिल्म र फुटकर गरी हालसम्म उनले पाँच सय गीतमा स्वर दिइसकेका छन्। बागबजारस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा संगीत विषय अध्ययन गरेका उनले मधुरिमा कला केन्द्रमा पनि संगीत सिकेका छन्।
केही समय भारत मुम्बईस्थित एक इन्टिच्युटमा पुगेर पनि उनले संगीत अध्ययन गरेका छन्। पछिल्लो गीत ‘जाने भए जाउ’, सांगीतिक बजार र सांगीतिक यात्राबारे रुपक डोटेलसँग देशसञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः
नयाँ गीत ‘जाने भएको जाऊ’को प्रतिक्रिया कस्तो पाउनुभएको छ?
यो फरक धारको आधुनिक गीत हो, सरिता सापकोटाले लेख्नुभएको गीतमा मायामा समपर्णभन्दा पनि छोडेर जान मन हुनेले जान पनि सक्छन् भन्ने सन्देश दिन खोजिएको हो। गीतको प्रतिक्रिया मिश्रित पाएको छु। सुनेर, हेरेर आनन्द लिने, मन पराउनेहरु पनि हुनुहुन्छ, गीतले नकरात्मक सन्देश दियो भन्नेहरु पनि हुनुहुन्छ।
यो विशेषगरी युवा पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको हो। मलाई यो गीत गर्ने क्रममा रमाइलो अनुभूत भयो। छाडेर जानेलाई बिर्सन सक्नुपर्छ भन्नु नै गीतको मुख्य सन्देश हो।
अडियो, भिडियोमा लगानी र मेहनत गरेजति दर्शक श्रोता पाउन नसकेको हो गीतले?
हो। प्राविधिक रुपमा भन्नुपर्दा नयाँ युट्युब च्यानलबाट गीत रिलिज गरेको कारण धेरै भ्युज जान सकेको छैन। तर म भ्युजको पछि लाग्दिनँ। पछिसम्म हेर्न मिल्ने गरी राखिएको यो एउटा दस्तावेज मात्रै हो।
सेन्टिमेन्ट गीतहरु रिलिज हुनेबित्तिकै भाइरल भइहाल्ने भन्दा पनि सदाबहार हुन्छन्। ‘जाने भए जाऊ’ पनि सदाबाहर गीत अन्तर्गत पर्छ।
लाइभ गायन प्रतियोगिताबाट करिअरको सुरुमै सफल बनेर संगीतमा निरन्तर हुनुहुन्छ, अहिलेको सांगीतिक बजारलाई कसरी बुझ्नुभएको छ?
पक्कै पनि पहिलाको समयभन्दा अहिलेको समय धेरै नै सहज बनेको छ। अहिले राम्रो प्रस्तुति दिएको खण्डमा छिट्टै नै धेरै दर्शक श्रोता माझ पुगेर परिचित हुन सकिने अवस्था छ। सकरात्मक रुपमा भन्नुपर्दा राम्रो कलाकारलाई राम्रो छ तर बजारले चर्चामा आउन नपर्ने गीतहरुलाई पनि कहिलेकाहीँ चर्चित बनाइदिएको हुन्छ।
चर्चामा आउनको लागि मात्रै गीत गर्ने नकरात्मक होडबाजीहरु देखिन्छन्। सांगीतिक ज्ञान भएकालाई त्यो राम्रो लाग्दैन। अहिलेको गीतको प्रवृत्तिभन्दा पनि सदाबहार गीतलाई मैले महत्व दिने गरेको छु। अहिले बजारमा आएको मेरो गीत १० वर्षपछि हेर्दा पनि उस्तै मिठास होस् भन्ने लाग्छ।
तपाईंको बुझाइमा भाइरल गीतले संगीतलाई न्याय गर्छ वा गर्दैन?
पहिलाको जस्तो रेडियो नेपालमा स्वर परीक्षा पास गरेर संगीतमा आउने अवस्था अहिले छैन। अहिले बजारसम्म गीत ल्याउन कुनै पनि प्रकारको मापदण्ड छैन। मापदण्ड र सेन्सर भनेकै दर्शक स्रोता हुनुहुन्छ। यत्ति मात्रै भन्न सकिन्छ कि दर्शक श्रोताले नै राम्रो गीत सुनिदिने र त्यसलाई हाइलाइट गरिदिने,बढावा दिने गर्नुपर्छ।
भाइरल गीतभन्दा पनि ओजस्वी गीतहरुलाई स्थान दिनुपर्छ। व्यवसायिक रुपमा गएपछि समाजमै नपच्ने गीत गाउनु हुँदैन। कलाकारले पनि जस्तो पायो त्यस्तै गीत गाउनु हुँदैन।
धेरै गीत गाएर मात्रै पनि हुने केही रहेनछ। मेहनत गरेर थोरै तर गुणस्तरीय काम गर्नुपर्छ। राम्रा गीतले सधैँ स्थान पाउँछन्, भाइरल समयसँगै हराएर जान्छन्।
सीमित केही गायक गायिकाले मात्रै यस क्षेत्रबाट लाभ लिएका छन्, अझै पनि गायन पेशा व्यवस्थित र व्यावसायिक बन्न किन नसकेको हो?
सांगीतिक बजार त बढ्दै गएको छ। स्वदेशमै पनि पहिलाको तुलनामा सांगीतिक कार्यक्रम, मेला महोत्सवहरु बढेका छन्। सांगीतक भ्रमणहरु पनि भएका छन्। यसले पनि कलाकारलाई नै फाइदा हुने हो। पहिला त कलाकार आफैमा लोकप्रिय वा चर्चित हुन पर्यो।
बजारमा गीतहरु चल्नु पर्यो। गीत मात्रै चर्चित भएर छायामा परेका कलाकारहरु पनि छन्। कलाकारले आफैलाई प्रोमोसन पनि गर्नुपर्छ।
हामीकहाँ राज्यले सांगीतिक क्षेत्रलाई दिएको प्राथमिकता तपाईंलाई चित्त बुझिरहेको छ?
राज्यको उच्च ओहोदामा बसेर कतिपय अवस्थामा सांगीतिक क्षेत्रलाई कम आँकेको देखिएको छ। तर, नीति निर्माण तहमा भएकाहरुले पनि संगीतको महत्व बुझ्नु जरुरी छ। मुलुकको क्रान्ति र परिर्वतनका विभिन्न कालखण्डमा पनि संगीतको प्रयोगले सफल भएका छन्।
हरेक ठाउँमा संगीतको प्रयोग हुँदै आएको छ तर यसको विकास हुने गरी महत्व दिइएको छैन।
लगानी र मेहनत गर्न राज्यबाट प्रोत्साहन छैन। चेतनाको कमीको कारण यो भएको जस्तो लाग्छ। संगीतको महत्व र आवश्यकताबारे राज्यतहमा ज्यादै कम चर्चा हुने गर्छ।
तर कोभिडपछि विश्व नै आर्थिक संकटबाट गुज्रिएको छ। अनिवार्य आवश्यकताहरु पूरा गर्न समस्या भइरहेको बेला मनोरञ्जन क्षेत्रले प्राथमिकता नपाएको गुनासो गर्नु हुँदैन।
सांगीतिक प्रस्तुतिको क्रममा तपाईं धेरै विकसित देशहरु पनि पुग्नुभएको छ, नेपालको सांगीतिक क्षेत्रको विकासमा के अपुग भएको जस्तो लाग्छ?
विदेशी र विकसित देशहरुसँग नेपाललाई दाँज्नु हुँदैन। विकसित देशहरुमा मनोरञ्जन अपरिहार्य हो भने हाम्रोमा अनिवार्य आवश्यकताहरु पूरा भएपछि आउने विषय हो।
सामान्य आधारभूत आवश्कतामा अल्झिएको कारणले विदेशी र विकसित स्तरको गीत संगीतको दाँजोमा पुग्न समय लाग्ने देखिन्छ। तर पनि हामी विभिन्न तवरले लागिपरिरहेका छौँ। देश विकाससँगै कलाकारको भविष्य पनि उज्जल भएर जाने देखिन्छ।
तपाईं संगीतको विद्यार्थी हुनुहुन्छ। छोटो समयमा नै सफलता खोज्ने अहिलेको पुस्तासँग संगीतमा धैर्यता र अध्ययन देखिँदैन,गायक/ गायिक बन्न संगीत अध्ययन गर्नु जरुरी छ होला नी?
अध्ययन गरेर आउनुपर्ने जरुरी छ। संगीतमा व्यावसायिक बन्न पनि अध्ययन गर्नुपर्ने हुन्छ। अध्ययन अनुसन्धान गरेर निकालेको गीतको अर्थ ओझपूर्ण बन्छ। साधना गरेको स्वरले धेरै श्रोताको मनमा बास पाउँछ।
शब्द, संगीत, संगीत संयोजन, गायन सबै कुरा बुझेर गर्दा गुणस्तरीय बन्छ।
झण्डै दुई दशक सांगीतिक क्षेत्रमा रहँदै गर्दा समयसँगै तपाईंका श्रोता, दर्शक फेरिएका पाउनुभयो कि भएन?
जसरी समय परिवर्तित छ, त्यसैगरी मलाई सुन्नेहरु पनि फेरिरहनु हुन्छ। नेपाली तारामा हेर्नुभएका दर्शक श्रोताले त मलाई कसैले पनि भुल्नुभएको छैन। त्यसयता पनि निरन्तर गीत निकालिरहेको छु।
त्यसपछिका दर्शक स्रोतामध्ये केहीले म र गीत दुबैसँग राम्ररी परिचित हुनुहुन्छ, केहीले गीत राम्रोसँग याद गर्नुभएको हुन्छ।
पछिल्लो समय प्रसाद चलचित्रको ‘वनकी चरी के भन्छे’ धेरै दर्शक स्रोताले रुचाउनु हुँदा पुरानो चर्चा (नेपाली ताराकै समयको चर्चा) दोहोरिएको महसुस भएको थियो।
संगीत यात्रामा तपाईंले आफ्नै रुचीअनुसार गीत गाउनुभयो कि दर्शक,स्रोता र बजारको मागअनुसार आफू प्रस्तुत भइदिनुभयो?
म मेरा गीतहरुसँग सन्तुष्ट छु। दर्शक, श्रोताको अथाहा माया पाएको छु। मैले विषेशगरी आधुनिक र लोक आधुनिक गीतहरु गाएको छु।
गजल गायन पनि मेरो रुचीको विषय हो। गाउँदा आनन्द आउँछ। तर मेरो रहर भएर पनि पूरा गर्न नपाएको पाटो गजल गायन हो। अब त्यो रहर पनि विस्तारै पूरा गर्छु।
आगामी योजनाहरु के छन्? कस्ता गीतहरु आउँदैछन्?
केही पाइपलाइनमा रहेका गीतहरु छन्। बजारमा ल्याउँछु। छिट्टै युरोपका विभिन्न देश र शहरमा सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। केही समय त्यतै व्यस्त हुनेछु। संगीत कर्म त जीवनभर नै गरिरहने छु।
अन्त्यमा दर्शक, श्रोतालाई केही भन्नुहुन्छ?
यसअघिका मेरा गीतहरुलाई जस्तै ‘जाने भए जाऊ’ गीतलाई पनि सुनिदिनुहोला। माया गरिदिनुहोला। भाइरल गीतभन्दा पनि सदाबाहार गीतहरुलाई प्रचार र सेयर गरिदिनुहोला।
नेपाली गीत संगीतको विकासमा स्रोता दर्शकको पनि महत्वपूर्ण भूमिका हुन्छ। आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर सहयोग गरिदिनुहोला।