सलीसल्लामा कर्णाली नदीमाथि बेलिब्रिज बनाइने

बेलिब्रिज निर्माण हुने सलीसल्लाको कर्णाली नदी। तस्बिरः राजन रावत÷हुम्ला

सिमकोट – राष्ट्रिय सडक सञ्जाल जोडिएको चंखेली र सर्केगार्ड गाउँपालिकाको सिमाना सलीसल्लामा रहेको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिने भएको छ। सलीसल्लासम्म आउने यातायातका साधन नदी पार गर्न उक्त पुल बनाउने प्रक्रिया सुरु भएको हो।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुुमार यादवले असार मसान्तसम्म सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज बनाइने जानकारी दिए। पुल नबनेका कारण कारण कर्णाली नदीपारिसम्म आएका यातायातका साधन उतै रोकिँदै आएका छन्।

नदीपारि ढुवानी भएका सामान नदीमाथि बनाइएको तुुइनबाट ढुवानी गरिँदै आएको छ भने मानिस झोलुंगे पुल तर्दै आएका छन्। बेलिब्रिज निर्माणका लागि आयोजनाले टेण्डर आह्वान गरी निर्माण कम्पनी कङ्ग्री निर्माण सेवालाई छनोट गरी सम्झौतासमेत भएका कारण बेलिब्रिज निर्माण हुनेछ।

आयोजनाले निर्माण अगाडी बढाउन छनोट भएको निर्माण कम्पनीलाई कार्यादेश दिने तयारी गरिरहेको छ। आयोजनासँग बेलिब्रिज निर्माणका लागि स्टिलपार्ट्सका सामान कपिलवस्तुको शिवपुुरमा तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले सलीसल्लासम्म यातायातका साधन आउने भएकाले सामग्री ढुवानीमा कुनै समस्या नभएको बताए।

निर्माण कम्पनीले पाँच ट्रक बेलिब्रिजको स्टिलपार्ट्सका सामग्री ढुवानी गर्नुपर्नेछ। त्यसैगरी, नदीको दुुबैतर्फ पिलरसमेत निर्माण गर्नु पर्नेछ। यसका लागि आयोजनाले असार मसान्तसम्म निर्माण समयावधि राख्ने भन्दै उनले बेलिब्रिज निर्माण तीन महिनामा सम्भव भएको बताए।

निर्माण कम्पनीका प्रतिनिधि छिरिङ लामाले बेलिब्रिज तीन महिनामा सम्पन्न गरेर यातायात सुचारु गर्ने प्रतिबद्धता जनाए। उनले बेलिब्रिजका सामग्री र पिलर निर्माणका लागि आवश्यक सिमेन्ट ढुवानी गर्न कुुनै समस्या नभएको कारण काम चाँडै हुने बताए।

बेलिब्रिज ५० मिटर लामो र ४ मिटर चौडाको निर्माण गरिनेछ। पुल निर्माणपश्चात् राष्ट्रिय सडक सञ्जाल सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म जोडिनेछ। कर्णालीवारि सलीसल्लादेखि च्याप्चेसम्म आयोजनाले सडक निर्माण पूरा गरिसकेको छ।

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्