५० लाख दाइजोका लागि श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका श्रीमान् कारागार चलान

जनकपुरधाम – सप्तरीमा दाइजोका लागि श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका एक जना कारागार चलान भएका छन्। सप्तरीको राजविराज नगरपालिका–४ का नवीनकुमार दासलाई जिल्ला अदालत सप्तरीको आदेशपश्चात कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
आरतीलाई पटक–पटक दाइजो ल्याउन कुटपिट गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। सोही आधारमा नवीनलाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात अदालतमा बुझाएपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
०७७ साल मंसिर २१ गते जातीय रीतिरिवाज परम्पराअनुसार आरतीकुमारी दास र नवीनकुमार दासबीच विवाह भएको थियो। आरतीका अनुसार विवाह भई घरमा बस्दै आएकोमा गर्भवती भएपछि श्रीमान्ले जग्गा खरिदका लागि बुवासँग ५० लाख रुपैयाँ मागेर ल्याउन भन्दा रुपैयाँ माग्न इन्कार गर्दा श्रीमान् र परिवारका अन्य सदस्यले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाएकी छन्। सोही कुटपिटमा आफ्नो गर्भ तुहिएपछि उपचारमा नलगी आफूले लगाएको गरगहनासमेत सासूले खोसी लगेको उनको आरोप छ।