म भारतको आवाजका लागि लडिरहेको छुः राहुल गान्धी

भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले आफू भारतको आवाजका लागि लडिरहेको बताएका छन्।
उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आफू भारतको आवाजका लागि लडिरहेको उल्लेख गर्दै त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका हुन्।
आफ्नो सांसद पद खारेज भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘म भारतको आवाजका लागि लडिरहेको छु। म जुनसुकै मूल्य चुकाउन तयार छु।’
बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दा राहुललाई दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो। उक्त फैसलाको भोलिपल्ट शुक्रबार राहुलको सांसद पद खारेज भएको हो।
भारतीय लोकसभा सचिवालयले आज एक सूचना जारी गर्दै राहुलको लोकसभा सदस्यता खारेज गरिएको जानकारी दिएको थियो।
राहुलको सांसद पद खारेज भएको विरोधमा भारतका विभिन्न स्थानमा कंग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।