अहिले नै कोशी प्रदेश सरकार ढल्दैनः इन्द्र आङ्बो

झापा – अन्य प्रदेशको जस्तो अवस्था नरहेकाले कोशी प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने नेकपा माओवादी केन्द्रले जनाएको छ।
अन्य प्रदेशका सरकार गठनको किनारा लागेपछि मात्र कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु गरिने नेताहरूले बताएका छन्।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने देशसञ्चारलाई बताए।
उनले भने, ‘अहिले नै हामी सरकारबाट बाहिरिँदैनौं । हाम्रो प्रदेश सरकारको अवस्था अन्य प्रदेश सरकारको जस्तो छैन।’
शुक्रबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार एमालेकै नेतृत्वमा कायम रहने बताएका थिए।
अहिले राप्रपाले पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ।
आङ्बोले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकारबारे अहिले नै नसोचिएको बताए।
कोशी प्रदेशमा ४० सिटसहित एमाले बलियो छ। अहिलेको सरकार ढलेर गठबन्धनको सरकार बन्ने स्थिति नभएमा मध्यावधि चुनाव हुने संभावना बलियो भएकाले पनि अहिले नै वर्तमान सरकार बिघटनको स्थिति नरहेको नेताहरूले बताएका छन्।