नेपालमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ छैन: केपी ओली

फाइल तस्बिर।

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।

कुनैपनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए।

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताए। उनले भने,‘नेपालमा साम्प्रदायिकताको ठाउँ छैन। साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन। रिटर्नी फेडेरेशनले बुझेको छ। कि हामी पूर्वको होस कि पश्चिमको। उत्तरको होस की दक्षिणको। निर्माण कार्यमा होस कि उत्पादन कार्यमा। जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामूहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनु पर्दछ। र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईहरुले संगठन बनाउनु भएको छ।’

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्