राष्ट्रपति पौडेललाई सामुदायिक रेडियो प्रसारक संघको बधाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
गत फागुन २५ गते मुलुकको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई राष्ट्रपति भवन शीतलनिवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन् ।
सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाँउ गाँउसम्म आम नागरिकमा सूचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरुलाई धन्यवाद दिए।
साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको सम्माननीय राष्ट्रपतिको धारणा थियो।
सम्माननीय ज्यूले भने,’स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेका छ। त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ।’ सम्माननीय राष्ट्रपति ज्यूले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताए।
सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष अर्जुन गिरीले राष्ट्रपतिलाई रेडियो सेट उपहार दिएका थिए।