रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र

काठमाडौँ – रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो। वार्षिक ९ लाख रुपैयाँ निर्माणका लागि खर्चिने गरिए पनि अझै यसले आकार लिन सकेको छैन।

राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसँग जनकपुरधामको रजौलस्थित लक्ष्मण जिराइतको १७ बिघा जग्गा लिजमा लिएर बनाउने योजना भए पनि अपेक्षाअनुसार निर्माण अगाडि बढ्न नसक्दा अलपत्रजस्तै भएको छ।

क्रिकेट, भलिबल र कबड्डीमा जनकपुरधामको आफ्नै विरासत छ। जनकपुरधामको रजौलस्थित प्रस्तावित श्री रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय खेलमैदान आकार लिने पर्खाइमा छ। दशकदेखि निर्माणका लागि काम थालिए पनि सम्पन्न हुन सकेको छैन। युवा र खेलप्रेमीका रंगशाला सम्पन्न होस् भन्ने अपेक्षामा छन्।

 नेपाल सरकारको सम्बन्धित निकायबाट अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा मान्यतासहित निर्माणको अनुमति पाएको यो रंगशालाको अहिलेसम्म निर्माणको कुनै ठोस कदम अगाडि बढेको छैन। यसै रंगशाला निर्माणसँगै अनुमति पाएको पोखरामा रंगशाला बनेर तयार भइसकेको छ भने सुर्खेतमा डिपिआरका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याइसकेको बताइन्छ।

राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधामको रजौस्थित लक्ष्मण जिराइतको १७ बिघा जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेसनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ। ०७४ साल मंसिर ३ गते राष्ट्रिय खेलकुद परिषद्, सातोदोबाटोको कार्यालयमा तत्कालीन खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका थिए।

रंगशालाका लागि जनकपुर उप–महानगरपालिका–१४ स्थित १७ बिघा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन्। नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव केशव बिष्टबीच लिखित सम्झौता भएअनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ का लागि उपलब्ध गराएका छन्। बुधवार मधेस सरकारका सभामुख रामचन्द्र मण्डल, मधेस सरकारका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलमले निरीक्षण अवलोकन गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख जनकपुरधाम राजधानीसमेत भइसकेकाले यस्ता महत्वाकांक्षी आयोजनामा तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको मेयर मनोजकुमार साहले बताए। उनले रंगशाला निर्माणका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए।

रंगशाला प्रचार प्रसारका लागि तत्काल मधेस सरकारको खेलकुद मन्त्रालयको २० लाखको सहयोगमा घेराबेराका लागि तारवारको काम गरी उपमहानगरको २० लाख सहयोगमा क्रिकेट पिचको निर्माण भइरहेको छ। मेयरकप, महेन्द्रनारायण निधि स्मृति कपसहितको खेल छिट्टै गरेर रंगशाला बचाउने र प्रचार गर्ने अभियान थाल्ने युवा बताउँछन्।

रंगशाला निर्माणमा डेढ दशकदेखि तीनै तहको सरकारसम्म धाइरहेका अभियान्ता दिनेश पूर्वेले ०६६ सालमा खेलकुदमन्त्री गणेश नेपालीलाई आफूले प्रपोजल दिए पनि उनले जनकपुरधाम उपेक्षा गरेको बताए। त्यसको स्थानमा तत्कालीन मन्त्री गणेश नेपालीले आफ्नो क्षेत्र महोत्तरीको जलेश्वरमा सोही प्रस्तावका लागि ५ करोड विनियोजन गर्दै रंगशाला निर्माण गर्न असहयोग गरेको अभियान्ता पूर्वेले आरोप लगाए।

उनले मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले फर्जी मन्त्रिपरिषद्को बैठक गरी जनकपुरधामको रंगशाला आफ्नो जिल्ला पर्साको वीरगञ्जमा सार्ने षड्यन्त्र गरेको प्रमाण आफूसँग रहेको समेत बताए।

जनकपुरधाममा सो रंगशाला बनेको खण्डमा पर्यटन विकास, आर्थिक उन्नति, खेलकुदको विकास र जनकपुरधामको क्रिकेट, कबड्डी र भलिबल खेलमा रहेको विरासत फर्किने युवा तथा खेलप्रेमीको भनाइ छ।

वार्षिक ९ लाख रुपैयाँ निर्माणका लागि खर्चिने गरिए पनि अझै रामजानकी रंगशालाले आकार लिन सकेको छैन। अपेक्षाअनुसार निर्माण अगाडि बढ्न नसक्दा अलपत्रजस्तै भएको छ।

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्