कर्णाली करिडोरको स्याम्ने सडकखण्ड निर्माण सुुरु गरिने

जिल्ला प्रशासन कार्यालयमा निर्माण रोकिएका सडक सुचारु गर्न बसेको बैठक। तस्बिरः राजन रावत/हुम्ला

सिमकोट – कर्णाली करिडोरको स्याम्नेदेखि आवासीय विद्यालय खण्डको सडकको रोकिएको निर्माण अगाडि बढाइने भएको छ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको पहलमा सडक निर्माण क्षेत्रमा पर्ने स्थानीय बासिन्दासँग काम सुुचारु गर्न शुक्रबार छलफल सुुरु गरिएको हो।

रोकिएको निर्माण सुुचारु पहलकर्ता प्रजिअ पौडेलले सडक निर्माणस्थल सिमकोट गाउँपालिका– ५ का स्थानीयसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको बताए।

सडकमा जग्गा पर्ने स्थानीय बासिन्दालाई सडक निर्माण कार्यमा सहभागी गराएर रोकिएको काम अगाडि बढाउन सकारात्मक कुरा भएको जानकारी दिँदै उनले यसका लागि निर्माण कम्पनी पक्षसँग हिल्सा–सिमकोट सडक आयोजनाले कुराकानी अगाडि बढाउने बताए। दुुई किमि लम्बाइ रहेको उक्त क्षेत्रमा ठ्यालेचौर, सुुकिलढुंगा, खेत, गनढुुस्का, कालढुंगासम्म छ। त्यसभन्दा अगाडि हुमानेखोला, पिप्लेडीसम्म सार्वजनिक जग्गा छ भने पिप्लेडीदेखि आवासीय विद्यालयसम्म ब्यक्तिगत जग्गा छ।

व्यक्तिगत जग्गामा जग्गाधनीलाई सडक निर्माणमा सहभागी गराएर रोजगारी पनि हुने र सडक निर्माणमा भएको जग्गा क्षतिबाट केही राहत मिल्ने भएकाले रोकिएको काम अगाडि बढाउन सहज हुनेछ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले निर्माण अगाडि बढाउन छलफल सकारात्मक रहेकाले तत्काल निर्माण कम्पनी पक्षलाई बोलाएर जग्गाधनीसँग छलफल गर्ने बताए।

उनले कालढुंगादेखि ओखढुंगासम्मको लिंक सडक निर्माणका लागि आयोजनाले फाइल तयार पारी विभाग हुँदै अर्थमा पुुगेको र सिमकोट रिङरोड निर्माणका लागि काम अगाडि बढाउने बताए।

यी दुवै योजना निर्माणका लागि स्थानीयको माग रहँदै आएको थियो। निर्माण रोकिएपछि निर्माण कम्पनी पक्षका प्रतिनिधि अर्जुन महताराले तीन–चार दिनमा जिल्लामा आएर छलफलमा सहभागी हुने बताए।

उनले जिल्लामा भएको सहमतिलाई आफ्ना समर्थन रहने र अब छलफलपछि काम चाँडै अगाडि बढ्ने बताए। सो क्षेत्रको जग्गामा २२ जना जग्गाधनीको जग्गा परेको छ। आयोजनाले ०७६ सालमा अनक कविन्द्र माउण्टेन जेभीसँग कार्पुुदेखि आवासीय विद्यालयसम्मको १२ किमि सडक निर्माणका लागि सम्झौता गरेको थियो।

कार्पुदेखि ठ्याले चौरसम्मको सडक निर्माण भने पूरा भएको छ। स्थानीयको विरोधपछि ०७७ साल चैतबाट उक्त खण्डको सडक निर्माण रोकिँदै आएको थियो। जग्गाधनीले खेतीयोग्य जग्गामा सडक निर्माण हुँदा त्यसको क्षतिपूर्तिको माग गर्दा हिल्सा–सिमकोट सडक आयोजनाले त्यसको व्यवस्था नगर्दा जग्गाधनीको विरोधमा सडक निर्माण रोकेका थिए।

यसअघि सिमकोटदेखि स्याम्ने खण्डकै सडक निर्माण गर्न स्थानीयले मेलगुडी, मैनागाडा, थलाहाल्न, ओलढुुंगा, मेलबिसौना, बचुुनधाराडाँडा, स्यागस्याग हुँदै ठ्यालेचौरसम्मको आठ किमि जग्गा दिएको भए पनि अहिले आयोजनाले सो सडकलाई मान्यता नदिँदा अर्को स्थानमा लिन खोजेपछि काम रोकिएको थियो। यस सम्बन्धमा केही दिनअगाडि देश  सञ्चारमा समाचार प्रकाशन गरेको थियो।

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्