म जहाँ रहे पनि आफ्नो लडाइँ जारी राख्ने छुः राहुल गान्धी

लोकसभा सदस्यता खारेज भएपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पहिलो पटक मिडियामा आएका छन्। शनिबार दिल्लीमा पत्रकार सम्मेलन गर्दै उनले एकपटक फेरि अडानी समूह र प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धलाई लिएर प्रश्न गरेका छन्।
आफूले संसद्मा अडानी समूह र मोदीको सम्बन्धबारे थप बोल्नसक्ने डरले आफ्नो सांसद पद खारेज गरिएको उनले बताए।
उनले भने,’मेरो सदस्यता खारेज गरियो किनकि प्रधानमन्त्री मेरो आगामी भाषणलाई लिएर डराएका थिए। उनी आगामी भाषणबाट डराएका थिए, जुन अडानीविरुद्ध हुनेवाला थियो। मैले यो डर उनको आँखामा देखेँ। उनी यो भाषणा संसदमा होस् भन्ने चाहँदैन थिए।’
पत्रकार सम्मेलनका क्रममा उनले व्यापारिक समूह अडानी ग्रुप र प्रधानमन्त्री मोदीबीच गहिरो सम्बन्ध रहेको पनि टिप्पणी गरे। उनले भने,’यसकारण पहिल्यै बाधा पुर्याइयो। अब सदस्यता खारेज गरिएको छ। कृपया भ्रममा नपर्नुहोस्, नरेन्द्र मोदी र अडानीबीच गहिरो सम्बन्ध छ।’
यस्तै, अदालतमा गएर माफी माग्नेबारे सोधिएको प्रश्नमा राहुलले भने,’म सावरकर होइन, म गान्धी हुँ र गान्धी माफी माग्दैनन्।’
पत्रकार सम्मेलनका क्रममा राहुलले अदालतको फैसलाबारे भने टिप्पणी गर्न अस्वीकार गरेका थिए। उनले भने,’अदालतको विषयमा यहाँ केही बोल्दिनँ।’
राहुलले आफूले प्रश्न गर्न नछोड्ने स्पष्ट गरे। उनले भने,’मलाई डर लाग्दैन। म प्रश्न गर्न छाड्दैन। चुप रहने मेरो इतिहास छैन।’
उनले थपे, ‘मेरो सदस्यता खारेज गरियोस् अथवा पुनः बहाल गरियोस्, यसबाट मलाई कुनै फरक पर्दैन। किनकि म जहाँ रहे पनि आफ्नो लडाइँ जारी राख्ने छु। यदी मलाई ५ वर्षको सजाय दिएको भए पनि मलाई केही फरक फर्दैन।’
सदनमा रहे पनि बाहिर रहे पनि लोकतन्त्रको रक्षाका लागि लडिरहने उनको भनाइ थियो। ‘मेरो काम यस देशको लोकतन्त्रको रक्षा गर्नु हो। म त्यो गरिरहने छु। सदनमा रहेर गरुँ या बाहिर रहेर गरुँ,’ उनले भने।
बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा राहुललाई दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो। उक्त फैसलाको भोलिपल्ट शुक्रबार राहुलको सांसद पद खारेज भएको थियो। भारतीय लोकसभा सचिवालयले हिजो एक सूचना जारी गर्दै राहुलको लोकसभा सदस्यता खारेज गरिएको जानकारी दिएको थियो।
यस्तै, दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवालले राहुल गान्धीको सांसद पद खारेज गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन्। आज दिल्ली विधानसभा बैठकमा बोल्दै उनले नरेन्द्र मोदी भारतको इतिहासमा सबैभन्दा भ्रष्ट र अनपढ प्रधानमन्त्री रहेको आरोप लगाए।