खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ सार्वजनिक

काठमाडौँ- बागी लेखक खगेन्द्र संग्रौलाको कथासंग्रह ‘सङ्ग्रामबहादुर सार्की’ राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक भएको छ।

पुस्तकमा नेपाली समाजमा विद्यामान जात व्यवस्था, दलित समुदायमिथ हुने गरेको विभेद र जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिविम्बित गरिएको छ।

‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारूप वा भ्रुण टिपेँ र त्यो प्रारूप वा भ्रुणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ,’ लेखक संग्रौलाले भने, ‘विपन्न, वञ्चित र दलितहरूलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने स-साना जमघटमा मैले यी कथाका पात्रहरुलाई भेटेको थिएँ।’

दलितका कथाहरू गैरदलितबाट भन्दा पनि दलितहरूबाटै बढी लेखिनु पर्ने बताए लेखक युग पाठकले।

उनले भने, ‘यस्तो किताबहरू धेरै लेखिनु पर्ने छ। कथा कसले लेख्ने हो मै पनि त्यसको एउटा दोषी हुँ। अझ दलित साथीहरूबाटै यस्ता किताब लेखियोस भन्ने हो।’

पाठकले अहिलेको जातीय छुवाछुतको आन्दोलनहरू छरपरष्ट रूपमा देखिए पनि आवाज कमजोर भएको सम्झिए।

२०४६ सालयता जातीय छुवाछुतमाथि गतिलो बहस हुन नसकेको औंल्याउँदै उनले भने, ‘उत्पादनका सबै काम गराउने तर शक्ति संरचनाभन्दा तल राखेर छुवाछुत गरिरहनु पर्ने अवस्थालाई अन्त्य हुनुपर्छ।’

विकासे सर गाउँमा आएपछि महिलालाई सहयोग त पुग्छ तर प्रोजेक्ट सकिएपछि फेरि उही अवस्थामा फर्किन बाध्य छ समाज। पञ्चायत कालपछि ती सरहरू अहिले समाज र भुइँमान्छेका लागि काम गर्दैनन् भन्छन् पाठक।

‘अहिलेका सरहरू गाउँमा सुतखोर भएका छन् सकेसम्म’, उनले भने।

कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले भुपाल राईले सुरुवातमै दलित मुद्दा अर्थात पहिचानको मुद्दाका लागि लड्न जानेको लेखक संग्रौलाबाटै सिकेको बताए।

अहिले किराँत प्रदेशतिर पनि वर्ण व्यवस्था हुन थालेको प्रति उनले माफी नै मागे। उनले भने, ‘चार सय वर्षयता छुवाछुतका कारण निर्मम किन छ हाम्रो देश? किन माफी माग्दैन?’

उनले कथा संग्रह सङ्ग्रामबहादुर सार्कीको एक कथाको सन्दर्भ जोड्दै सहानुभूतिपरक र स्वअनुभूतिपरक लेखनको फरक छुट्याउँदै भने, ‘आवाजविहीनका लागि आवाज दिने एजेन्सीहरू समाजमा अत्यन्तै जरुरी छ।’

त्यसैगरी, समाजशास्त्रकी विद्यार्थी, दलित अभियन्ता, लेखक सरिता परियारले जातका नाममा गरिने दमन शोषण दक्षिण एसियाकै समस्या रहेको बताइन्। तर संग्रौलाको किताब सङग्रामबहादुर सार्की पुस्तक दलित आन्दोलनका लागि एजेन्सी हुने बताइन्।

‘सङ्ग्रामबहादुर सार्की जात व्यवस्था भन्ने विषयलाई अध्ययनको विषय हुन्छ’, उनले भनिन्, ‘पहाडे बाहुनले मात्रै नभएर अन्य जातिका साथीबाट पनि यस्ता किताब लेखियोस् भन्ने हो।’

‘५० को दशकमा उच्च जातको अत्यन्तै अहम देखिन्छ। र अहिले पनि त्यसले निरन्तरता पाएको छ’, परियारले किताबको सन्दर्भ कोट्याउँदै भनिन्, ‘दलितले कहिले पाउने आत्मसम्मान?’

‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा (२०२७ देखि २०५५ सालसम्म) लेखिएका आठ फुटकर कथा छन्। पुस्तक बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्