भुटानलाई पराजित गर्दै लाओसले कायम राख्यो फाइनल सम्भावना

फाइल फोटो

काठमाडौँ- काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको आफ्नो दोस्रो खेलमा लाओसले भुटानलाई २-१ ले पराजित गरेको छ। दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा बोन्पाचान बोन्कोंगले दुई गोल गरेपछि लाओसले पहिलो जति हासिल गर्यो।

प्रतिस्पर्धात्मक खेलमा लाओसले खेलको सुरुवातमानै अग्रता लिएको थियो। तर भुटानले पहिलो हाफमानै बराबरी गोल गर्न सफल भयो। खेलको तेस्रो मिनेटमा नै लाओसले  बोन्पाचान बोन्कोंगको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो। तर खेलको ३४ औं मिनेटमा भुटानले बराबरी गोल गर्यो। भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफको ७१ औं मिनेटमा बोन्कोंगले लाओसलाई अग्रता दिलाएका थिए। कप्तान सुकाफोन भोङचेखामले दिएको लामो पासलाई बोनपाचानले सदुपयोग गर्दै ब्यक्तिगत र टिमका लागि दोस्रो तथा  विजयी गोल गरेका थिए।

खेलमा बराबरी गर्ने प्रयास गरेपनि भुटान असफल भयो। ९० औं मिनेटमा तेन्जिङ दोर्जीको प्रहार पोस्टमा लाग्दा भुटान बराबरी गर्नबाट चुकेको थियो। जितले ३ अंक बटुलेको लाओसको फाइनल पुग्ने सम्भावना जीवित छ। अब मंगलबार हुने समूह चरणको अन्तिम खेलमा ३ अंक जोडेको नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २० ले हराएको थियो। उक्त खेलमा नेपालले भुटानलाइ पराजित गरे या बराबरीमा रोके लाओसले नेपालसँगै फाइनल यात्रा तय गर्ने छ। तर भुटानले नेपाललाई हराएमा भने समिकरण बदलिन सक्ने छ।

 

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्