चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

काठमाडौँ- नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन्।
शनिबार काठमाडौँमा सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा सुचित्रा श्रेष्ठले दिएको उम्मेदवारी फिर्ता लिएपछि निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित भएका हुन्।
‘संस्थालाई वैद्धिक र सिर्जनात्मक ढङ्गले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायतका एजेण्डा पूरा गर्नेछु’, नवनिर्वाचित अध्यक्ष पराजुलीले भने, ‘निर्देशकले मेरो संस्था भन्न सक्ने किसिमले काम गर्नेछु। मलाई विश्वास गरेर निर्विरोध बनाउनु भएकाले अवसरसँगै चुनौती पनि उत्तिकै छ।’
कूल १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित भएका छन्।
सदस्यमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनमा दुई सह-सदस्यका भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए।