बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र राष्ट्र बेलारुसमा रुसी आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति पुटिनले अमेरिकाले युरोपका धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको बताउँदै आफ्नो यो कदम आणविक निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने जिकिर गरे।
यद्यपि उनले यो हतियारको नियन्त्रण भने रुसले बेलारुसलाई नदिने जनाए।
शनिबार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए।
उनले भने, ‘यसमा कुनै अनौठो कुरा छैन। अमेरिकाले दशकौँदेखि यो गरिरहेको छ। उसले आफ्ना सहयोगीहरूको भूमिमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू तैनाथ गरिरहेको छ।’
पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाइको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन्।
राष्ट्रपति पुटिनले रुसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको पनि बताए।
९० को दशकको मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गर्न लागेकाे याे पहिलाे पटक हाे।
सन् १९९१ मा सोभियत संघको विघटनपछि रुस, युक्रेन, बेलारुस र काजाकस्तान – चार नयाँ स्वतन्त्र राष्ट्रहरूमा रुसी हतियारहरू बाँकी थिए। यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो।
पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोगमा विचार नगर्ने कुरामा विश्वस्त रहेको बताएको छ।
बेलारुस रुसको महत्त्वपूर्ण सहयोगी मानिन्छ। रुस-युक्रेन युद्ध सुरु भएदेखि नै उनले रुसलाई समर्थन गर्दै आएकाे छ।