उपन्यासकार विवेक ओझाको दोस्रो उपन्यास ‘ऐँठन’ सार्वजनिक

काठमाडाैँ- लेखक विवेक ओझाको नयाँ उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ।

लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले पुस्तकको विमोचन गरेका हुन्।

ऐँठन युद्ध साहित्य हो। उपन्यास दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ।

ऐँठन लेखक ओझाको दोस्रो उपन्यास हो। यसभन्दा अगाडि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए। जसमा बादी समुदायले भोग्नु परेको यौन यौन उत्पीडनलाई विषय बनाइएको थियो।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले ‍ऐँठन नेपाली युद्ध साहित्यको उम्दा कृति भएको टिप्पणी गरे।

लेखनमा कलात्मक लेखन र कल्पनाशीलताको उचाइ रहेको उनको भनाइ थियो। यसले पाठकलाई अध्ययनको लामो समयसम्म गम्भीर प्रभाव पार्ने उनले बताए।

यसैगरी नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने बताइन्।

लेखक ओझाले निहत्था आमनागरिकको आँखाबाट लेखिएको बताए।

पुस्तक साङ्ग्रिला बुक्स प्रकाशन गृहले प्रकाशन गरेको हो।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्