गैरसदस्यको हस्तक्षेप भएको भन्दै केपी पाठकले त्यागे निर्देशक समाजको सदस्यता

फाइल तस्बिर।

काठमाडौँ- चलचित्र निर्देशक समाजको १५ औँ महाधिवेशनमा गैरसदस्यको हस्तक्षेप भएको भन्दै पूर्वअध्यक्ष तथा निर्देशक केपी पाठकले सदस्यता त्यागेका छन्।

जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको केही घण्टामै फेसबुकमार्फत् पाठकले संस्थाको सदस्य नरहेको घोषणा गरेका हुन्।

शनिबार काठमाडौँको एक ब्याङ्क्वेटमा भएको चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव र उम्मेदवारी फिर्ता लिन जबर्जस्ती दबाब दिएको लगायतका आरोप लगाउँदै पाठकले सदस्यता त्यागेका हुन्।

भोलिका दिनमा अमर्यादित गतिविधि रोकिएमा पुनः सदस्यता लिने पनि उनले जनाएका छन्।

उन‍ले फेसबुकमा लेखेका छन्, ‘आज भएको चलचित्र निर्देशक समाजको चुनावी साधारणसभामा गैरसदस्यको प्रभाव, उम्मेदवारलाई जबर्जस्ती उम्मेदवारी फिर्ता लिन दबाब, उम्मेदवारको रुवाबासी र महिला सदस्यप्रति गरिएको व्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकको चुनाव देखिएन, एउटा सदस्य र पूर्वअध्यक्षको नाताले मेरो शिर निहुरियो। तसर्थ आजका मितिले म त्यस समाजको सदस्य नरहेको जानकारी गराउँछु। भोलिका दिनमा यस्ता अमर्यादित गतिविधि भएनन् र संस्थागत गरिमा कायम भएको अवस्थामा पुनः सदस्यता लिने छु। आगामी दिनमा कुनै पनि संस्थाले गैरसदस्यलाई बन्दसत्रमा प्रवेशमा रोक लगाउन र निष्पक्ष निर्वाचन गराउन सफल होऊन् शुभकामना।’

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्