
कोरोना संक्रमण विश्वबाट उन्मूलन हुने क्रममा केही तलमाथि अझै पनि भइ नै रहेको छ। केही समयअघिसम्म मात्रै कोरोना संक्रमण निकै उच्च बिन्दुमा पुगेका देशहरु, जस्तै– कोरिया, जापान, चीनलगायत यूरोपका केही देशहरुमा हाल कोरोना संक्रमण निकै शान्त देखिन्छ। यद्यपि, हाल पनि जर्मनीमा दैनिक करिब १०० भन्दा बढी मृत्यु, जापानमा ५० भन्दा बढी, ताइवानमा २५-३५ जति र केही ल्याटिनी देशहरुमा पनि १५-२५ मृत्यु देखापरिरहेका छन्। तर पनि पछिल्लो समयको कोरोना संक्रमण प्रवृत्ति घट्दो नै देखिन्छ।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी रहेकोमा विगत केही हप्तादेखि यस क्षेत्रको कुल कोरोना संक्रमण संख्यामा सामान्य वृद्धि हुँदै गएको प्रवृत्ति देखिएको छ। दक्षिण एसियाको पछिल्लो करिब ५ हप्ता फेब्रुअरी १३ देखि मार्च २० (३६ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र नं. १ मा देखाइएको छ।
पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण संख्या निकै कम भएता पनि चित्रमा देखाइएजस्तै पछिल्लो करिब ५ हप्तामा दक्षिण एसियाको समग्र कोरोना संक्रमणको प्रवृत्ति बढ्दै गएको देखिन्छ र पछिल्लो अवास्थामा दैनिक औसत संक्रमण संख्या ६०० नाघेको छ र अधिकतम १२०० सम्म पुगेको छ। जुन विगतका साताहरुमा ३०० देखि ६०० सम्म पुगेको थियो।
त्यस्तै, पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रवृत्ति पनि केही बढ्न खोजेजस्तो देखिए पनि संख्या भने नगन्य देखिन्छ, दैनिक करिब ४ देखि ५।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ मार्च १९ देखि २५ (वि.सं २०७९ चैत्र ५ देखि ११) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र नं. २ मा प्रस्तुत गरिएको छ।
यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, चैत्र ११ गते शनिबारसम्म, देशभरि जम्मा २७ जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या १० लाख ०१ हजार २०७ पुगेको छ। यसरी नेपालमा विगत एक महिनाभन्दा लामो समयदेखि साप्ताहिक संक्रमण संख्या क्रमशः बढ्दै गइ ७ बाट ९, १२, १९ र २७ हुँदै गतहप्ता पुगेको छ।
त्यस्तै चित्र नं. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०% देखि अधिकतम ३.३७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १.०७% पुगेको छ। दैनिक संक्रमण दर निरन्तर वृद्धि नभएता पनि विगतमा भन्दा केही बढ्न खोजेको देखिन्छ।
गतहप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२ हजार २० पुगेको छ।
गतहप्ता देशभरि जम्मा १९९७ पीसीआर परीक्षण गरियो, जुन संख्या दुई हप्ताअघि ७५० थियो।
संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण समग्रमा कम हुँदै गएको छ।
पछिल्लो समय दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमण संख्या पनि निकै न्यून रहेता पनि विगत एक महिनाभन्दा लामो समयदेखि समग्र दैनिक संक्रमणमा केही सामान्य वृद्धि हुँदै गएको छ।
नेपालमा पनि गतहप्ता, वि.सं २०७९ चैत्र ५ देखि ११, साप्ताहिक नया कोरोना संक्रमण संख्या विगत एक महिना अघिको भन्दा बढेको छ। नेपालमा विगत एक महिनादेखि साप्ताहिक संक्रमण संख्या बढ्दै गएको प्रवृत्तिको देखिएको छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी निकै कमी आइसकेकता पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन, जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्दछ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।