नेपालगञ्जको ब्रिनोज कान अस्पतालमा तालाबन्दी

नेपालगञ्ज – ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा तालाबन्दी गरिएको छ।
अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो। उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा तालाबन्दी गरिएको छ।
२०५७ सालमा बाँकेको ५ वटा गाविसबाट काम सुरु गरेको संस्थाले सन् २००९ मा दर्ता गरेर रिफरल सेन्टरको रुपमा अस्पताल सञ्चालन गरेको थियो। संस्थामा सुरुदेखि नै विमलकुमार टण्डन नै अध्यक्ष रहेको, साधारणसभा नभएको, परिवारवाद भएको भन्दै थारुलगायतले आन्दोलन थालेका छन्।
बेलायती नागरिक निल वेरको सहयोगमा अस्पताल निर्माण भएको हो। सन् २०१५ देखि निलले सहयोग गर्न छोडेका छन्।