सन्दीपसँग जाहेरी पक्षले मागेको थिए १० लाख अन्तरिम क्षतिपूर्ति, अदालतले गर्‍याे अस्वीकार

काठमाडाैँ – जिल्ला अदालत काठमाडौंले बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्ध अन्तरिम क्षतिपूर्तिको माग अस्वीकार गरेको छ। जाहेरीकर्ता गौशाला २६ ले ‘अन्तरिम संरक्षणसहित अन्तरिम क्षतिपुर्ति दिलाउने आदेश गरी पाउँ’ भन्दै गत ३ फागुनमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

जाहेरीकर्ताले सन्दीपसँग सामाजिक हिंसामा परेको र सामाजिक परामर्श आवश्यक भएको र विज्ञसँग उपचार गराउँदै आएको भन्दै अन्तरिम क्षतिपूर्ति दिलाउन माग गरेका थिए। जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिको रुपमा १० लाख या मासिक ५० हजार सन्दीपबाट भराईपाउँ भन्दै मुद्दा दायर गरेका थिए। जसलाई अदालतले शुक्रवार सुनुवाइ गरेको थियो।

उक्त मुद्दाको शुक्रबार दुबै पक्षको सुनुवाइपछि आइतबार जिल्ला अदालतले फैसला गर्दै तत्काल क्षतिपूर्ति दिनु नपर्ने र मुद्दाको फैसला हुँदाका वखत कानुनबमोजिम हुने ठहर गरेको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजालासले उक्त आदेश गरेको हो। आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा फैसला हुँदाका वखत कानुनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिमको मासिक रू ५० हजार क्षतिपूर्ति भराइदिनुपर्ने अवस्था देखिएन।’

सोमबारबाट अन्तिम बहस

सर्वोच्च अदालतको आदेशअनुसार सन्दीपको मुद्दाको अन्तिम फैसलाका लागि सोमबारबाट अन्तिम बहस सुरु हुँदै छ। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘सोमबारबाट अन्तिम बहस सुरु हुनेछ। सर्वोच्चको आदेश अनुसार अब अन्तिम बहस हुने हुँदा रोकिँदैन होला।’

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्