सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित चार वटा टिपर महानगरको नियन्त्रणमा

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने एक वटा स्काभेटरसहित चार वटा टिपर नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–२८ दरदरवास्थित गुठीको सार्वजनिक जग्गामा दुई महिनादेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिर परिसरमा राखिएको छ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने वीरगञ्ज –२८ का स्थानीय युवा जितेन्द्र कुमार पटेलले बताए।

दरदरवास्थित नदीको छेउबाट निरन्तर उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन्। अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए।

महानगरले केही सातायता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारबाही गर्ने चेतावनी दिए। साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन्।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्