कृषि विकास बैंकद्वारा धनुषामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

धनुषा –धनुषाको विदेह नगरपालिका–६ स्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। कृषि विकास बैंक मधेश प्रदेश कार्यालयको आयोजनामा चैत १० गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।
ग्लोबल मनी सप्ताहका अवसर पारेर बैंकद्वारा धनुषाको विदेह नगरपालिका–६ धनुषाको विदेह नगरपालिका–६ मा आयोजित कार्यक्रममा नमुना माध्यमिक विद्यालयमा विभिन्न संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, आसपासका अभिभावक, कृषक समूहका सदस्य, आमा समूहका महिलालगायत सहभागी रहेको कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले प्रशिक्षण दिएका थिए। कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका निर्देशक नवीनकुमार पाख्रिनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रधानाध्यापक पवनकुमार मण्डल, बैंकको खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठ, पत्रकार जितन मण्डललगायत सहभागी थिए।
कार्यक्रममा प्रशिक्षण दिँदै उपमहाप्रबन्धक सुवेदीले विश्व आर्थिक मन्दी चलिरहेको सन्दर्भमा नेपालमा यसको नकारात्मक असर पर्न नदिन हरेक व्यक्तिले आर्थिक कारोबारमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिए।
आर्थिक गतिविधिमा संलग्न गृहिणीदेखि घरमूलीसम्म सबैले बचतको बानी विकास गर्नुपर्ने, विलासी वस्तुको मात्र उपभोग बढाउनुभन्दा उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्न सुझाव दिए।
कृषि विकास बैंकले ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरी पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको हुँदा हरेक व्यक्तिले बैंकिङ माध्यमबाट आर्थिक कारोबार गर्दा बचत सुरक्षित हुने, आर्थिक कारोेबार पारदर्शी हुनेलगायत फाइदा हुने उनले बताए।
प्रशिक्षणका क्रममा प्रमुख प्रशिक्षक सुवेदीले बैंकका विभिन्न लगानी प्रोडक्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ सुविधा, सफा नोट, चेकलगायत विषयमा जानकारी गराए। घरघरायसी व्यवहारमा हुने आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा आबद्ध गर्दा हुने फाइदाका विषयमा पर्याप्त जानकारी प्राप्त भएकोले कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागीमध्ये वाणिज्य संकायमा अध्ययनरत विद्यार्थी रीता यादवले प्रतिक्रिया दिए। धनुषा जिल्लाको पनि अति दुर्गम गाउँलाई लक्षित गरी प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरेकोमा सहभागीहरूले खुसी व्यक्त गरे।